नेपालीमा एउटा उखान छ, ‘काम गर फलको आश नगर’। अस्ट्रेलियाको नेपाली समुदायमा एक त्यस्ता व्यक्तित्व छन् जो आफूलाई कहिल्यै प्रचार प्रसारमा ल्याउन चाहेनन्।
परदेशमा दुई दशक रहेका झापाका युवा उमेश पोखरेल जो कर्मलाई प्रचारको माध्यम बनाउन कहिल्यै चाहेनन्।
अस्ट्रेलिया बसाइँको क्रममा उनले लगभग २ हजार नेपालीलाई रोजगारीको लागि सहयोग गरे, साथ दिए।
सन् १९९९ मा प्राविधिक शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आइपुगेका उनी मेहेनत र परिश्रम गर्दै सुपरभाइजरबाट नेसनल मेनेजरका रूपमा काम गर्न थालेका छन्।
विद्यार्थी जीवनका कथा व्यथालाई सम्झेर नै उमेशले आफ्नो कामलाई सम्मान र अरुलाई परेको बेला सहयोग गर्नुपर्छ भन्ने कुरा आत्मसाथ गरे।। त्यसैले आज करिब २ हजार नेपाली युवालाई रोजगारीको लागि सहयोग गरेका छन्।
‘काम गर्दै जाँदा राम्रा काम पनि भए होला कमीकमजोरी पनि भए होला। सिक्दै जाने हो। परेको सहयोग गर्दै जाने हो। यो सामान्य कुरा हो’,उनले भने।
उमेश कार्यरत कम्पनीमा अस्ट्रेलियाभर करिब दुई हजार ६ सय व्यक्तिले रोजगार पाएका छन्।
सन् २००० देखि नै समाजिक सेवामा अभिप्रेरित उमेश सन २००१ मा नेप्लिज अस्ट्रेलियन खुकुरी क्लबमा आवद्धता भएका थिए।
सन् २००५ देखि सो क्लबको अध्यक्ष भएर सन् २००९ सम्म खेलकुदको माध्यमबाट समुदायलाई जोड्ने काम गरेका थिए।
त्यसपछि लगातार विविध सामाजिक कार्यमा जुटेका उमेश झापाली समाज अस्ट्रेलियाका संस्थापक सदस्य रहे।
सन् २०१३ देखि २०१७ सम्म केन्द्रीय सदस्य रहेका उमेशले २०१७ देखि ०१९ मा उपाध्यक्षको भूमिका निर्वाह गरे।
पचासौं हजार नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियामा काम नपाएर भौतारिएका कैयौं नेपाली विद्यार्थीका लागि उनी सारथी बनेका छन्।
‘एउटा नेपालीले परदेशमा अर्को नेपालीलाई सहयोग गर्नु भनेको आफ्नो दायित्व पूरा गर्नु हो,यो कुनै ठुलो विषय होइन तर हाम्रो समाजमा सानो काम गरे पनि ठूलो प्रचार गर्ने परम्पराले केही हदसम्म बिगारेको छ’,हाल झापाली समाज अस्ट्रेलियाका अध्यक्ष रहेका उनले भने, ‘हो मैले नेपाली भाइ बहिनीहरूलाई काम लगाइदिएँ त्यो खासै ठूलो कुरो होइन, कामदार चाहिएको थियो र मैले सिफारिस गरिदिएको हो, नेपाली इमान्दार हुन्छन्, काम राम्ररी गर्छन् त उनीहरूलाई लिन कम्पनी तयार छ,यो बुझ्नु पर्ने अर्को पाटो हो’
नेपालीहरूको पदीय जिम्मेवारी महत्वपूर्ण रहेको हरेक क्षेत्रमा एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने हो भने धेरै क्षेत्रमा नेपालीहरूले मौका पाउन सक्छन्, यो विषयमा हामी गम्भीर हुन जरुरी छ।