अस्ट्रेलियाको एक राष्ट्रिय दैनिक पत्रिकामा अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको मानमर्दन, नेपालको हैसियत र गरिब राष्ट्रका रूपमा परिभाषित गरी लेख प्रकाशित गरिएकोमा अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अस्ट्रेलियन सरकारको ध्यानाकर्षण गराएको छ।
गत आइतबार सिड्नीबाट प्रकाशित हुने सिड्नी मर्निङ हेराल्डमा नेपाल र नेपाली विद्यार्थीको मानमर्दन हुने गरी समाचार प्रकाशित भएपछि राजदूतावासले यस विषयमा सोमबार नै अस्ट्रेलियन शिक्षा मन्त्रालयलाई पत्राचार गरेको हो।
राष्ट्रिय पत्रिकामै यस्तो खाले समाचार प्रकाशित भएपछि ६५ हजार विद्यार्थी अध्ययन गरिरहेको अस्ट्रेलिया र यहाँ रहेको नेपाली समाजमा निकै चर्चा परिचर्चा हुन पुगेको थियो।
‘गरिब देशका विद्यार्थी र फि तिर्न नसक्ने अनि काम र दामका लागि कुदने’ जस्ता भनाइ प्रयोग गरेर प्रकाशित यस लेखमा सिड्नी विश्वविद्यालयका प्रोफेसर बारबोन्स एएनयुका प्राफेसर नोर्टनको भनाइलाई आधार बनाइएको थियो।
यसरी अस्ट्रेलियाको शैक्षिक उद्योगमा तेस्रो ठूलो लगानी गर्ने देशका रूपमा २.६ विलियन तिर्ने नेपाल र नेपाली विद्यार्थीलाई मानमर्दन गरेर लेख प्रकाशित गरेकोमा एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मीलगायत समाजका अगुवाहरूले विरोध जनाउँदै सामाजिक सञ्जालमा आ-आफ्ना भनाइ राखेका थिए।
यसरी एउटा समाचारले नेपाली समाजलाई तरंगित बनाइराखेका बेला क्यानबेरामा रहेको नेपाली राजदूतावासले सोमबार बिहानै सिधै शिक्षा मन्त्रालयलाई पत्राचार गरेर यस विषयमा जानकारी गराएको छ।
राजदूतावासले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरू अन्य राष्ट्रका झैं यहाँको नीति नियम र परिधिभित्र रहेर सम्बन्धित शैक्षिक निकायको अनुमतिमा अध्ययन गर्न आएकोले यस्तो खाले समाचारले सम्बन्धित मुलुकको छविमा नराम्रो पर्नसक्ने विषय उल्लेख गरिएको थियो।
सोमबार साँझपख नै अस्ट्रेलियन शिक्षा मन्त्रालयले नेपाली राजदूतावासलाई पत्र लेखेर नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा रहेका र उनीहरूको अध्ययन अध्यापन गर्ने विषयमा मन्त्रालयका कुनै गुनासो नरहेको स्पष्ट पारेको राजदूतावासले स्रोत जनाएको छ।
अस्ट्रेलियन शिक्षा मन्त्रालयले भनेको छ, ‘नेपाली विद्यार्थी अस्ट्रेलियन सरकारको सबै मापदण्ड पूरा गरेर यहाँ अध्ययन गर्न आएका हुन्, मन्त्रालय उनीहरूलाई स्वागत गर्दछ।
‘नेपाल देश गरिब होला तर नेपाली त्यति गरिब छन् जस्तो मलाई लाग्दैन, उनीहरू पचास साठी लाख सहजै खर्च गरेर छोराछोरी पढाइरहेका छन, के आधारमा यहाँका प्राफेसरले नेपाली विद्यार्थीलाई गरिब अनि देश गरिब भने मलाई थाहा भएन’, सिड्नीका कानुन व्यवसायी खिलेन्द्रराज तिम्सिनाले भने।
अस्ट्रेलियामा पनि कैयौं घरबारविहीन छन्, सडक र पार्कमा सुत्नेको भीड त्यत्तिकै छ, नेपालमा पनि होलान्, पर क्यापिटा इनकमका आधारमा गरिब मुलक फि तिर्न सक्दैनन् भन्ने भनाई आफैंमा हास्यास्पद छ, किनभने नेपाली विद्यार्थीले २.६ विलियन डलर तिरेका कारण यहाँको शैक्षिक उद्योग धानिएको तिनलाई थाहा रै’नछ,’ वकिल तिम्सिनाले सुनाए।
अस्ट्रेलियाको उद्योगधन्दा र कलकारखाना अनि व्यवसाय तिनै विद्यार्थी धानेको उनको दाबी छ।
‘हामी नेपाली अरुभन्दा बरु इमानदार अनि नैतिकवान छौं,यस कुराका पुष्टि अस्ट्रेलियन सरकारको कैयौं सर्वेक्षणले बताइसकेको छ, कसैले केही हरप बोल्दैमा अनि लेख्दैमा हाम्रो पहिचान र सम्मानमा कुनै फरक पर्दैन’ तिम्सिनाले भने।
प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुस्