मौसमको भर नहुने अस्ट्रेलियालाई यतिबेला अग्नी प्रकोपले सताएको छ।
शनिबारको उखरमाउलो गर्मीपछि अचानक चिसिएको आइतबारे बिहानीमा एक हुल नेपाली विद्यार्थी सेन्ट्रल स्टेशनमा बस कुरेर बसेका थिए।
भिजन फर मोटिभेसन (भिएफएम)ले आयोजना गरेको पानीमा सुरक्षा विषयक एक दिने तालिममा जान बस कुरेर बसेका रहेछन उनीहरु। हातमा कालो ब्याग बोकेर स्टेसनमा देखिए अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल।
करिब तीन सय किलोमिटरको दुरी पार गर्दै राजधानी क्यानबेराबाट सिड्नी आइपुगेका दाहाल पनि विद्यार्थीसँग कार्यक्रममा जान सेन्ट्रल स्टेशनमा आइपुगेका थिए। साथमा थिए न्यु साउथवेल्स राज्यका महावाणिज्यदूत दिपक खड्का र एनआरएनका युवा अभियन्ता डिला खरेल।
विद्यार्थी बोकेर बस तारामारा समुन्द्री तटतर्फ हुइँकियो। भिएफएमका अध्यक्ष रमेश श्रेष्ठले बसभित्रै राजदूत, महावाणिजयदूतलगायतलाई विद्यार्थीसँग परिचयात्मक कार्यक्रम सुरु गरे।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले बसभित्र खचाखच भरिएका नेपाली विद्यार्थीलाई सम्वोधन गर्दै भने ‘दूतावास विद्यार्थीको हितमा सधै चनाखो भएर लाग्नेछ र यसको पहिलो प्रयासका रुपमा म तपाइहरुसँग यो यात्रामा छु।’
विद्यार्थीले तालीले स्वागत गरे। राजदूत दाहालले थपे ‘दूतवाससँग सरोकार रहने सबै विषय सम्वोधनका लागि जतिबेला र जहाँ पनि हामी तयार छौँ त्यसका लागि अप्ठेरो नमानी विद्यार्थी भाइबहिनीहरु सम्पर्कमा आउनु पर्छ।’
क्यानबेरामा रहेको राजदूतावास र सिड्नीमा रहेका विद्यार्थीबीच संभवत पहिलो पटक यसरी भलाकुसारी भएको विद्यार्थीहरुले बताए। सिटी बसमा करिब ६५ जना विद्यार्थी थिए। कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले विद्यार्थीको सुरक्षाका विषयमा सबै निकायको चासो रहेको बताउँदै भिएफएमले ‘बिच’ सेफ्टीको कार्यक्रमलाई निरन्तरता दिनु महत्वपुर्ण रहेको बताए।
बस तारामारा ‘बिच’को ओरालो लागिसकेको थियो। तारामारा ‘बिच’ अगाडिको तारामारा सेफ्टी क्लबमा प्रवेश गरेपछि पौडी प्रशिक्षकले पानीमा गर्न हुने र गर्न नुहने विषयमा बिध्यार्थीहरुलाई स्पष्ट पारेका थिए। समुन्द्री तटमा रहेका विभिन्न चिन्हको अर्थ र त्यस्तो अवस्थामा पानीमा खेल्न हुने÷नहुने लगायतका विषयमा बताएका थिए।
विद्यार्थीलाई तारामारा ‘बिच’मा करिब २० मिनेट पानीको बहाव र सुरक्षा उपकरण तथा बचावको तरिकाको विषयमा जानकारी गराइएको थियो। सो अवसरमा स्थानीय तटीय पौडी प्रशिक्षक तथा उद्दारकर्ताले तीव्र पानीको बहावकाबीच कसरी सुरक्षा अपनाइन्छ भन्ने अभ्यास समेत गरेर देखाएका थिए।
गर्मी छल्न समुन्द्रमा रमाउन जाने क्रममा साना साना असावधानीले पनि ज्यान जाने जोखिम रहने कुरालाई मध्यनजर गर्दै भिएमएफले विद्यार्थीहरुलाई तालिम प्रदान गरेको हो।
पानी सुरक्षाको एक दिने तालिमको समापनमा राजदूत दाहालले प्रायोजक र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल, उपाध्यक्ष देव गुरुङ, एनएसडब्लुका सह सचिव तिर्थ कार्की, नारी निकुन्जकी सचिव अन्जना बस्नेत कार्की, सामाजिक अभियन्ता सुवान चौलागाईं लगायतको उपस्थिति थियो।
तालिमपछि नेपाली कला संस्कृति झल्काउने गीत संगीत प्रस्तुत गरिएको थियो।