लगातार डढेलोको चपेटामा परेर अस्ट्रेलियाको सिड्नी सहर धुवाँले छोपिन थालेपछि स्थानीय न्यू साउथवेल्स राज्यले आजदेखि एक हप्ताको लागि संकटकालको घोषणा गरेको छ।
न्यू साउथवेल्स राज्यकी सरकार प्रमुख प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले बिहीबारदेखि आगामी सात दिनसम्मका लागि संकटकाल घोषणा गरेकी हुन्।
दमकल विभागको सुझाव र आपतकालीन अवस्थाको मूल्यांकन गरेर राज्यमा संकटकाल लगाइएको हो।
बढ्दो तापक्रम, खराब मौसम र हावाको उच्च बहावले अझ धेरै संकट आउन सक्ने अनुमान गरिएपछि नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै यस्तो निर्णय गरिएको हो।
उच्च तापक्रमले सिड्नी र वरपरका स्थानमा पनि निकै प्रभाव पारेको छ।
एनएसडब्लु राज्यमा मात्र अहिले पचासौं स्थानमा डढेलो लागिरहेको र यसको प्रभावले एक सातासम्म पिरोल्ने हुनाले सबैलाई यो प्राकृतिक प्रकोपबाट बच्न राज्यले अनुरोध गरेको छ।
आज सिड्नी वरपर मात्र चालिस डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको थियो।
योसँंगै बिहीबारमात्र डढेलोले न्यु साउथवेल्समा आधा दर्जन भन्दा बढी घर ध्वस्त पारेको छ।