अस्ट्रेलियामा नेपाली अभियन्ताहरुले आफ्नै पहलबाट स्वदेश फर्क अभियान थालेका छन्।
तर राज्यले नै यो अभियानमा बेवास्ता गरेको उनीहरुको गुनासो छ। अस्ट्रेलियामा नाम र दाम कमाएर व्यवसायिक ख्याती कमाएका एक जोडी अभियन्ताले कम ब्याक होम अभियानको ब्याख्या गर्दै गर्दा एक भुक्त भोगीको प्रश्न थियो, ‘अब राज्यले पनि वेलकम होम भन्नुपर्यो।’
अस्ट्रेलियाबाट पिएचडी सकेर नेपाल फर्केका पुर्व सचिव डा. रामहरी अर्याल र मुटु रोग विशेषज्ञ डा. दामोदर पोखरेलले सिड्नीको कम ब्याक होम अभियानमा सामेल हुन आग्रह गरेका छन्। अर्यालले भौतिक रुपमा मात्र नभई सहभागिता र सहयोगको माध्यमले पनि मुलुकको विकास र विस्तारमा सहयोग पुर्याउन आह्वान गरे।
एनआरएन र एकाको आयोजनामा सम्पन्न कार्यक्रममा अर्यालले भने, ‘सिकेको ज्ञान र लगानीको माध्यमबाट अभियानमा जोडिन सके मुलुकले कोल्टे फेर्ने कुरामा दुईमत छैन। यो काम सुरुमा झन्झटिलो र असहज हुनसक्छ, मुलुक परिवर्तन गर्न हामीले नयाँ पुस्तालाइ घर फर्क अभियानमा सामेल गर्न खोजेका हौं।’
कार्यक्रमका अर्का वक्ता डा दामोदर पोखरेलले आफ्नो उदाहरण दिँदै केहीले साहस गरेमात्र मुलुकमा परिवर्तनको रेखा कोरिन सक्ने बताए।अस्ट्रेलियाको वेस्टमिड हस्पिटलमा मुटुरोग विशेषज्ञ रहेका पोखरेलले फिजीमा समेत अोपन हर्ट सर्जरीको रुपरेखा कोरेका थिए। सिपसँगै कमाएको पैसा बोकेर स्वदेश फर्केका पोखरेलले परिवारको असहमतिसँग हन्डर र ठक्कर नखाएका होइनन्।
उनको सिप र ज्ञानका अगाडि सबै झुके र मुलुकको स्वास्थ्य क्षेत्रले एउटा नयाँ आयाम कोर्ने मौका पायो। डा पोखरेलले भने, ‘परिवर्तनको ढोका खोल्नकै लागि हामीले कम व्याक होम भनेका हौं।’
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश कुमार दाहालले जन्मदै कोही ठूलो र दक्ष नहुने भन्दै हरेक कुरा सिक्दै अगाडि बढनुपर्नेमा जोड दिए। राजदूत दाहालले भने, ‘सबैले असल नियतले काम गर्ने हो, असल बन्छु भन्नेमा म बिश्वस्त छु।’
दुई जना डाक्टरले मुलुकको हित सोचेर ल्याएको कम ब्याक होम कार्यक्रमले धेरैको मन र तन आकर्षित गर्ने दाहालले बताए। कार्यक्रममा सहभागी सिड्नीका युवा व्यवसायी सरोज पाण्डेले आफूले सिकेको सिपलाई मुलुकमा जोड्न खोज्दा झन्झटिलो र ठक्कर खाएको बताए। कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले अभियानका लागि आफूले मुलुकमा भौतिक नभएपनि आर्थिक रुपमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
देशको नीति र प्रक्रिया झन्झटिलो हुँदा मानिसहरु स्वदेश फर्केर पनि पुनः विदेश आएको उदाहरण रहेको भन्दै सहभागीहरुले प्रक्रियागत सहजता गर्नुपर्नेमा जोड दिए। ‘अब कम ब्याक होम मात्र हैन, राज्यले नै एउटा नीति बनाएर विदेशबाट आउनेको लागि विशेष सुविधा दिई वेलकम होम अभियान संचालन गर्न सक्नुपर्छ’ एक सहभागीले भने।
सहभागीहरुले आर्थिक नीति र नियमनका कारण पनि नेपालमा लगानी लैजान डराउने अवस्था रहेको बताएका थिए। ‘लगानी लैजान पाउने र ल्याउन पनि सहज रुपमा पाउने नीति बन्यो भने बल्ल वातावरण बन्छ’ उनले थपे।
एनआरएनका उपाध्यक्ष मन केसी, पुर्व प्रवक्ता रान्जु थापा ,एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मी, एनएसडब्लुका सचिव दिपक पहारी तथा एकाका अध्यक्ष पर्शुराम अधिकारी लगायतले कार्यक्रमको महत्वका बारेमा प्रकाश पारेका थिए।