जति औकात छ, त्यति नै प्रकाश छरिरहनु छ। सूर्य बन्न नसके केही छैन,तुलना गरेर हीनता बोधमा पर्नु छैन। जुनकिरीबाट सिकेर क्षमता अनुसार प्रदिप्त बनिरहनु छ। सके दूरदराजसम्म नसके आसपास मै मात्र भए पनि उज्यालो फालिरहनु छ।
आफूभित्रबाट निखारेर म सानो, म गरिब , म अनपढ, म अदक्ष, उमेरले साथ नदिएको, म सीप नभएको, शरीरले साथ नदिएको, आदि शब्द, जसले आफ्नै जीवनको अपमान गराइरहेको हुन्छ,त्यस्ता शब्दहरू आफूबाट तुरुन्त निफन्दिनुस् , जसरी कि चामलबाट बियाँ फालिन्छ।
हरेक मान्छे ऊर्जाले भरिएको एक अनन्य पुन्ज हो र तपाईं पनि।
एकपक्ष कमजोर होला, तर अर्को पक्ष सशक्त हुन सक्छ। कमजोरीपनलाई नै उपयोग गरेका छन्, संसारमा जित्नेहरूले।
मान्छे कहिल्यै पूर्ण थिएन र छैन। तर उसलाई अस्तित्वले केही न केही एक अलग गुण दिएकै हुन्छ, मात्र त्यसलाई पहिचान गर्नुछ।
जर्मनीको शिशु स्याहार केन्द्रमा पहिला साना विद्यार्थीहरूलाई अनेक खेलौना दिएर एक्लै खेल रोज्न लगाइन्छ। पेन्टिङ , फुटबल , मोटर गाडी ,भान्छा , वाद्यवादन,घर निर्माण इत्यादि। हरेक विद्यार्थीले आफ्नो भित्री रुचि अनुसारकै खेलौना रोज्छन्, र लगाव देखाउँछन्। उनीहरूको चेतनाले दिएको निर्देशन अनुसार नै अभिभावकलाई शिक्षकहरूले परामर्श दिन्छन् कि 'तपाईंको सन्तानलाई यो क्षेत्रमा बढी रुची छ र यसमै उसले प्रगति गर्न सक्छ र सन्तुष्टि रहन सक्छ’।
यसपछि उनीहरूलाई यसै अनुसारको शिक्षा दिलाइन्छ। हामीहरू हरेकभित्र यस्तै आ-आफ्नै एक सोख र प्रतिभा रहन्छ। यिनै सोख र प्रतिभालाई आम्दानी वा व्यवसायको अभिन्न माध्यम बनाउन सकिन्छ। संसारमा महान बन्नेहरूले कि त सोखलाई नै व्यवसाय बनाए कि त आफ्नो पेशा वा व्यवसायलाई नै सोख बनाए।
हरेक जन्मको कुनै खास कारण हुन्छ। म तपाईंं वा जो कोहीलाई पनि यो अस्तित्वले खास कारणले जन्माएको हुन्छ। तपाईं बेकारी कहिल्यै हुन सक्नु हुन्न।
हुनसक्छ यसको पहिचान तपाईंंलाई पछि होला तर कारण भने अवश्य छ। आफूले थाहा नपाउनुको अर्थ, नहुनु भन्ने होइन। दृष्टिविहीन, अंग विहीनहरूमध्ये कतिपयले समेत त्यसैलाई आफ्नो सबल पक्ष बनाएर जन्मलाई सार्थक बनाएका पनि छन्। शरीर टेढोमेडो भएका महात्मा अस्टावक्र, दृष्टिविहीन महान् लेखक होमर, ब्ल्याकहोलको रहस्य अनुसन्धान गर्ने 'स्टिफन हक, दृष्टि गुमाएकी प्रखर वक्ता सृष्टि केसी, दुवै हात नचल्ने तर खुट्टाले लेखेरै महान् बनेकी झमक घिमिरे यसका केही उदाहरणका पात्र हुन्।
शरीर कमजोर हुनेहरूले त एक/एक महानताको उदाहरण पेश गरेका छन् भने तपाईंसँग शरीर सवल छ भने कमजोर कसरी हुन सक्नुहुन्छ। आफूले आफैंलाई भन्नुहोस्। हरेक बिहान र हरेक साँझ एक मिनेटको नै किन नहोस्, एकान्त रोज्नुहोस् र सम्झाउनुहोस् आफ्नो अवचेतन मनलाई र दोहोर्याउनुहोस् ‘म महान कार्यको लागि जन्मिएको हुँं’।
थोरैबाट किन नहोस्। सुरूआत गर्नुहोस्। सानो सोच हुन्छ, तर सानो काम कहिल्यै हुँदैन। कुनै पनि क्षेत्रको सुरूआतले तपाईंलाई कि त सफलता दिलाउँछ कि त अनुभव। कसैले भन्छन्‘जाबो शौचालय सफाइको काम’ तर त्यही कामलाई प्रविधि र प्रस्तुतिमा फरक पारेर तारे होटलसम्मकोस फाइ गर्न पुग्नेहरू आज सफल धनाढ्य बनिसकेका छ्न्। तपाईंले जाबो काम गर्दिनँ भनेर समय खेर फालिरहँदा फरक सोच हुनेले त्यही जाबोलाई मालामालको स्रोत बनाइरहेका हुन्छन्। खेम भन्डारीलाई हेर्नुस् उनले तारे होटल मात्र होइन, नेपाल सरकारकै मन जिते, सफाइको काम थालेर। अस्ट्रेलियामा समेत यसकै कम्पनी खोलेर सयौं बेरोजगारलाई रोजगारी समेत दिलाए।
तपाईंले हेपेका, छाडेका र नदेखेका यस्ता हजारौं कामहरू छन्। ढिला कहिल्यै हुन्न। आत्म निर्णय गर्नुहोस्, तपाईंलाई होच्याउन र खिस्याउन खोज्नेहरूको कुरा कहिल्यै नसुन्नुस्।
सधैं सकारात्मक सोच लिएर अघि बढ्नुस्। एउटा सानै सकारात्मक सोचको झिल्कोले पनि जीवन बदलिन सक्छ। जोडी रहनुस्,आफ्नो आदर्श र सफल व्यक्तिहरूसँग। ध्यान दिनुहोस्,सफलताका उदाहरणहरूमा। वेदले भनेको छ ‘कृतं मे दक्षिणे, हस्ते जयोमी सभ्य आहित’। दाहिने हातले लगातार कर्म गर्नुस् , देब्रे हात,तपाईंको विजय कुरेर बसेको छ।
कुनै काममा उचाई हासिल गर्दैमा तपाईं सफल हुनुभयो भन्ने होइन। मनले अठोट गरेर काम थाल्नु पनि सफलता हो। काम रोक्नै परेर पनि जुन सन्तुष्टि र अनुभव हासिल गर्नुभयो त्यो तपाईंंको सफलता हो। जस्तो कि बिजुली बत्तीका आविष्कारक थोमस एल्वा एडिसनले ९९९९ पटक अनुत्तिर्ण हुँदा भनेका थिए 'म त्यति धेरै पटक फेल भएको होइन बरु, कुन कुन प्रकृया चाल्दा बत्ती निस्कन सक्दैन भन्ने ज्ञान हासिल गर्न सफल भएको हो। धनको अभाव, समयको अभाव बहाना मात्र हो। मनको अभाव, मात्र अभाव हो। आफूसँग जति धन छ त्यसैबाट सुरू गर्नुस्, त्यो सम्भव नभए सापट वा बैंकबाट ॠण लिनुस्। महान् इच्छाशक्ति कहिल्यै रोकिने छैन।
जस्तो परिस्थिति छ त्यस्तैबाट अघि बढ्नुहोस्। परिस्थिति अनुसार तपाईं बदलिने होइन, तपाईंअनुसार परिस्थिति बदलिन बाध्य हुनेछ।