नेपथ्य ब्याण्ड शनिबार सिड्नीमा तेस्रो पटक प्रस्तुत हुँदै गर्दा तीन हजार दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ भरिपुर्ण थियो। दुई घन्टादेखि छिर्न लाइन बसेका प्रशंसक र टिकट नपाएका केही संगीतप्रेमीमा नैराश्यता देखिएता पनि उत्सुकता र धैर्यता गजबको संयोग थियो।
संसारभर प्रतिष्ठित अन्तर्राष्ट्रिय कन्सर्टहरुमा ‘अनलाइन टिकट’ पूर्ण क्षमताका साथ अभ्यासमा आइसकेता पनि नेपाली मनोरञ्जन उद्योगमा अझै यसको विकास हुन सकेको छैन। यस्तोमा सिड्नीमा यस वर्ष नेपथ्य कन्सर्टका शतप्रतिशत टिकट ‘अनलाइन’बाटै विक्री भएर नयाँ कीर्तिमान कायम हुन पुगेको हो। अनलाइनमा राखिएको टिकट विक्रीको क्रममा कन्सर्ट सुरु हुनुभन्दा अगाडि नै कम्प्यूटरका पर्दाहरुमा ‘सोल्ड आउट’ देखिएको थियो।
‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट अनलाइनबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपपटक सिड्नीले पुरा गरिदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने। ‘यति ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चूनौतिका रुपमा स्वीकार्न आयोजक नेपाली टच तयार भयो र सफलता समेत हात पारेको छ’, नेपाली टचका राजकुमार गोश्वामीले भने।
नेपाली गीत संगीतको क्षेत्रमा एउटा नयाँ संभावना र राष्ट्रियताको सन्देश खोलेकै कारण यस पटक बिगटप अडिटोरियम ‘हाउसफूल’ हुन पुग्यो। त्यसका वाबजुत पनि टिकट पाइन्छ कि भनेर आउने केही प्रशंसकहरु समेत लुनापार्क वरपर भेटिएका थिए। कर्णप्रीय गीत संगीतसँगसँगै सन्देशमूलक प्रस्तुतिले कार्यक्रममा सुनमा सुगन्ध थपिएको थियो।
‘तपाईजस्ता तन्नेरीहरुमै म मुलुकको भविष्य देख्दैछु, यता आर्जन गरेको ज्ञान र सिपले स्वदेशलाई समृद्ध बनाउँ है,’ गायक अमृत गुरुङले गीत गाउँदा गाउँदै बीचमा भने, ‘अघिल्ला पुस्ताले हाम्रा निम्ति अवसर तयार नपारिदिएता पनि हामीले आउने पुस्ताका निम्ति नेपालमा पर्याप्त संभावना थुपारिदिनु पर्छ है।’
‘हाम्रो मुलुक धेरै सुन्दर छ,’ अमृत भन्दै थिए, ‘अर्कोपटक स्वदेश फिर्दा सहरबाट निस्केर गाउँहरुको यात्रा गर्न नछुटाउनु होला, तपाईंका अष्ट्रेलियन साथीहरु छन् भने उनीहरुलाई पनि साथमा ल्याउन नभुल्नु होला है।’
शनिबारको कन्सर्टमा पनि नेपथ्यले सिड्नीका दर्शकलाई सँधैजस्तै लोक रकका भाकाहरुले तरंगीत पार्न सफल भएको छ। ब्याण्डको उपस्थितिलाई अझ भब्य बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन गरेर मात्र नभई स्तरीय प्रस्तुतीको प्रयास गरिएको थियो।
यो कन्सर्ट नेपथ्य अष्ट्रेलियाकै राजधानीमा छैठौंपटक सफलताका साथ प्रस्तुत भएको छ। यस सहरले पृथ्वीको दक्षिणी गोलाद्र्धमा नेपथ्यलाई सबैभन्दा बढी माया गर्ने दर्शकको सहरका रुपमा पनि आफूलाई उभ्याउँदै आएको छ।
अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नी सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक उभ्याएको थियो। त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए। त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ। त्यसमध्ये सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहन पुगेको भीडले ट्राफिक जाम हुनपुगेको थियो।
त्यसपछि सन् २०१५ यता लुनापार्कको यो अडिटोरियममा नेपथ्य प्रस्तुत हुँदै आएको हो। ‘सिड्नी मेरो निम्ति आत्मीय सहर हो, जहाँ म घरमा जस्तै सर्वत्र आफूलाई माया गर्नेहरु भेटिरहेको हुन्छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन् ‘अहिले भन्दा थोरै नेपालीहरु बसोबास गर्दाको पहिलो कन्सर्ट म झल्झली सम्झन्छु।’
सिड्नी मात्र नभइ विश्वभर यसरी नेपाली समुदायको उपस्थिति बाक्लिँदै गइरहेकोमा खुशी लाग्ने गरे पनि स्वदेशमा अवसरको अभावले बाहिरिन बाध्य भएको यथार्थता हुँदा तितो लाग्ने गरेको उनले बताए। ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैमा अवसरले भरिएको एक समृद्ध मुलुक बन्ने अमृतले विश्वास व्यक्त गरे।
नेपथ्यले यस पटक सिड्नीकै संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको थियो भने सिड्नी शो एक्सपर्ट एजुकेसनको प्रस्तुती रहेको थियो। ‘यो वर्ष नेपथ्यलाई हामीले निम्त्याउन पाउँदा असाध्यै गौरव महशुस भएको छ,’ संस्थाका तर्फबाट संयोजक दिपेश पुन भन्छन्। नेपथ्यलाइ सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।