भिजिट नेपाल २०२० मा ऐक्यवद्धता जनाउन अस्ट्रेलियामा नेपाल जाने पर्यटकलाई ससम्मान बिदाई गरिएको छ।
नेपाल गौरवमय यात्राको तयारीमा व्यस्त खेम शर्माले शनिबार बिहान आफ्ना चार जना अस्ट्रेलियन मित्रहरूलाई ससम्मान बिदाइ गरेका छन् भने एक जनालाई मेलबर्न अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको टिमले बिदाई गरेको छ।
जनवरी १ मा काठमाडौंमा भेट्ने गरी उनले आफ्ना अस्ट्रेलियन मित्रहरूलाई नेपाली ढाका टोपी र ढाकाको खादा लगाएर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदा गरेका हुन्।
युरोपमा बाल्यकाल बिताएका र हाल सिड्नीको ब्रोड्वय निवासी ग्याबिन मक्कोर्म्याकले भिजिट नेपालको सन्दर्भमा आफूलाई सम्झेर टिममा निमन्त्रणा गरेकोमा शर्मालाई धन्यवाद दिए।
अर्का अस्ट्रेलियन नागरिक थोमस क्रेगरले पनि सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी उपहार पाउँदा हिमालयको उचाइमा पुगिसकेको अनुभूति भएको बताए।
उनले आफू पर्यटकका रूपमा नेपाल गएर त्यहाँका प्राकृतिक सुन्दरता हेर्नुका साथै स्वच्छ मन भएका नेपाली साथी बनाउने बताए।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्नीका नेपाली सामाजिक अभियन्ता खेम शर्माको नेतृत्वमा भिजिट नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुने टिम बनाएको छ।