नेपालीहरुको बाक्लो बस्ती रहेको सिड्नीको पश्चिमी क्षेत्रमा यो हप्ता एउटा नौलो घटनाले निकै चर्चा पायो। छोरी अस्मिता (नाम परिवर्तन)को निम्तामा नेपालबाट बुवाआमा अस्ट्रेलिया घुम्न आएका थिए। अस्ट्रेलिया आएका बेला छोरीको घरमा बुवाआमाले झगडा गर्न थाले। छोरी आत्तिइन् र प्रहरीलाई खवर गरिन्।
छोरी अस्मिताले आमाको पक्ष लिएर स्थानीय प्रहरीलाई खबर गरिन्। छोरीकै स्टेटमेन्टका आधारमा प्रहरीले बुवालाई पक्रियो। सो परिवारलाई यहाँको कानुन र परिधिको बारेमा जानकारी थिएन। साना–तिना घरेलू झगडालाई परालको आगोझैं सम्झे बुढाबुढीले।
केही समयपछि आमाले प्रहरीबाट छुटाउन भन्न थालिन्। बावुलाई छुटाउन छोरी ज्वाइ प्रहरीको शरणमा पुगे। तर केस फाइल भैसकेपछि र स्टेटमेन्ट दिइसकेको अवस्थामा मुद्दा अगाडि बढ्ने नै भयो। प्रहरीले एक दिनपछि प्रक्राउ परेका बुवालाई प्रश्न सोध्यो, ‘फर्केर कहाँ जान्छौ ?’ उनले सिधा उत्तर दिए– ‘छोरीकोमा जान्छु।’
तर जुन घरबाट उनलाई घरेलू हिंसाको आरोप लाग्यो, त्यही जाने कुरा प्रहरीलाई पचेन र छाड्न मानेन। उनी फेरि दुई दिन हिरासतमा बसे। बल्ल बल्ल उनलाई नजिकको साथी भाइको ठेगानामा बस्ने बनाइए पछि प्रहरीले छाडेको छ।
नेपालझैं सम्झेर नेपाली अभिभावकले यहाँ झगडा गरे होलान्, तर छोरीलाई सह्य भएन, यहाँको प्रचलन अनुरुप प्रहरीकोमा फोन गरिन्। पक्रेर लगेपछि मात्र उनीहरु झस्किए। छोरी ज्वाइले त दुःख पाए नै बुवाआमाले समेत नराम्रो महसुस गरे। यहाँको स्थानीय नीति नियम र कानुनको बारेमा अस्ट्रेलिया ल्याइने अभिभावकलाई पनि सामान्य जानकारी दिन जरुरी रहेको देखिन्छ।
यतिखेर करिब चार हजारको संख्यामा नेपाली अभिभावक अस्ट्रेलियामा छन्। तेल भिषा अर्थात बच्चा बच्ची रेखेदेख गर्नेदेखि घुम्न आउने अभिभावकको संख्यामा पनि बृद्धि भएको छ। यस्तो परिवेशमा छोरा छोरीले नै यहाँ पालना गर्नुपर्ने सामान्य नियम कानुनको बारेमा जानकारी दिन जरुरी देखिन्छ।
पछिल्लो पटक अस्ट्रेलियाकै पेनरिथतिर पार्क र बाटोभर फुलेका कोइरालोको फूल रुख चढेर टिप्दै गर्दा एक नेपाली झन्डै कारबाहीको दायरामा परेका थिए। नेपालमा अचारका लागि उत्तम मानिने कोइरालो ढकमक्क फुलेको देखेपछि रुख चढेका उनलाई काउन्सिलका कर्मचारीले जरिवाना गरेर छाडेका थिए।
यति मात्रै होइन, कुना काप्चातिर पिसाव गर्ने र पार्कमा चराचुरुङ्गीलाई आफूले खाँदै गरेको खानेकुरा खुवाउँदा कतिपय अभिभावक समस्यामा परेको उदाहरणहरु छन्। यहाँ चरा चुरुङ्गी र जनावरलाई समेत जुठो र अपुरो खाना खुवाउन मिल्दैन भन्ने कुरा अभिभावकले कसरी बुझुन् ? जवकि हाम्रो देशमा यसरी खुवाउँदा धर्म हुन्छ भन्ने जानेका छन् उनीहरुले।
यस्ता कुरामा अभिभावक ल्याएर यहाँको नियमकानुनबारे जानकारी नदिने छोराछोरीको पनि कमजोरी ठान्छन् कानुन व्यवसायी भरत पोखरेल। यहाँ आएका बुवाआमालाई के के गर्न मिल्छ, के के मिल्दैन भन्ने कुरा बुझाउन सक्नु छोराछोरीको कर्तव्य हुने उनले बताए।
‘छोराछोरी काम, दाम र पढाइमा बिजी हुन्छन्। अभिभावक आफ्नो सुरमा हिँड्न थाल्छन्, नेपालमा गरिरहने बानी भएका कतिपय साना गल्ती यहाँ ठूलो हुन जान्छ’ पोखरेलले भने।
नेपाल र अस्ट्रेलियाका कतिपय व्यवहारिक पक्ष र कानुनी व्यवस्थामा निकै अन्तर छन्। ‘हामी घरका साना तिना झगडालाई परालको आगो भन्छौँ, अनि निभाउँछौँ पनि तर यहाँ त्यस्तो हुँदैन’ उनले भने।
कानुनी दायरामा लगेपछि यहाँ प्रकृयागत रुपमा मात्र त्यसको निराकरण हुन्छ। ‘हामी अस्ट्रेलिया बसेर नेपालमाझैँ सोच्छौँ र सानातिना गल्ती गरिहाल्छौँ अनि हतारमा निर्णय गर्दा फुर्सदमा पछुताउँछौँ’ पोखरेलले भने।