अस्ट्रेलियाव्यापी भ्रमणमा निस्केको चर्चित सांगीतिक समूह नेपथ्यलाई सोमबार सिड्नीमा भव्य स्वागत गरिएको छ।
आगामी १४ डिसेम्बर शनिबारको दिन सिड्नीमा हुने विशेष प्रस्तुतिका लागि नेपथ्य सिड्नी आइपुगेको हो।
एक्सपर्ट नेपथ्य लाइभ इन सिड्नी नाम दिइएको यस पटकको अभियान सिड्नीको चर्चित लुना पार्कको विग टप इभेन्ट्स हलमा आयोजना हुनेछ।
लुना पार्कको सो हलको क्षमता तीन हजार दर्शक अट्ने रहेको छ। तास्मानियाको कार्यक्रम सकेर सिड्नी आइपुगेको नेपथ्यका अगुवा अमृत गुरुङ र उनको टोलीलाई सिड्नी विमानस्थलमा पञ्चकन्याले स्वागत गरेका थिए।
विमानस्थलमा आयोजक नेपाली टचका राजकुमार गोश्वामी र प्रायोजक एक्सपर्ट एजुकेसनका निर्देशक सन्जिव कुमार शर्माले फुलमाला र खादा लगाएर स्वागत गरे।
कर्णप्रिय गीतसंगीत र लोक लयको मिठाससँंगै देशभक्तिका प्रस्तुति दिने नेपथ्यका जोमसोमै बजारमा, भेंडाको ऊन जस्तो, यो जिन्दगानी, रातो र चन्द्र सूर्यजस्ता गीतले संगीतप्रेमीहरूलाई आकर्षित गरेको छ।
एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको प्रस्तुतिका रूपमा रहने नेपथ्य सिड्नी लाइभको कार्यक्रममा करिब तीन हजार दर्शकहरूको उपस्थितिको अपेक्षा गरिएको आयोजक नेपाल टचका निर्देशक राजकुमार गोश्वामीले बताए।
नेपथ्यको यो चौथो पटक अस्ट्रेलिया भ्रमण हो। नेपथ्यले सन् २००९ मा पहिलो पटक अस्ट्रेलियाको सांगीतिक यात्रा सुरू गरेको थियो। नेपथ्यको अस्ट्रेलिया भ्रमणलाई यस पटक नेपाली टच अस्ट्रेलियाले संयोजन गरेको हो।