अस्ट्रेलियाको सिड्नी वरपर छरिएर रहेका युवा पुस्ताबीच भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाल र नेपालीको पहिचान उजिल्याउने अभियानमा लागेका युवा समूहले आइतबार भिजिट नेपाल २०२० लाई सफल बनाउन आआफ्नो क्षेत्रबाट लागिपर्ने बताएका छन्।
सिड्नीमा नेपालीहरूको बाहुल्यता रहेको रकडेल क्षेत्रमा रहेको रकडेल ब्वाइज नामक युवा समूहले क्रिसमस साँझ र पर्यटन वर्ष अभियानका रूपमा आइतबार एक कार्यक्रमको आयोजना गरेका छन्।
कार्यक्रममा युवा समूहले सिड्नी वरपर नेपालको पहिचान र पर्यटन प्रवर्द्धन लागि पोष्टर ,पम्पलेट लिएर स्थानीय अस्ट्रेलियनहरूलाई नेपाल भ्रमणमा उत्प्रेरणा गर्न विभिन्न कार्यक्रम ल्याइने जनाएको छ।
कार्यक्रममा पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष राज कुमार अधिकारीले विदेशमा रहेको युवा शक्तिले मुलुकको विकास र विस्तारमा चासो देखाउनु पर्ने औंल्याए।
रकडेल ब्वाइजले सामाजिक तथा ब्यवसायिक रूपमा रचनात्मक कार्यहरू अगाडि बढाएको सन्दर्भमा भिजिट नेपालमा नौलो अभियानको थालनीले महत्वपूर्ण सन्देश दिएको बताए।
कार्यक्रममा एनआरएन एनएसडब्लुका उपसंयोजक तीर्थ कार्कीले विदेशमा रहेर पनि स्वदेशको अभियानमा हातेमालो गर्न तम्सेको रकडेल ब्वाइजका सामाजिक कार्यमा सबैले साथ दिनुपर्ने बताए।
ग्रानभिल नेपाली समाजका उपाध्यक्ष भीम बस्नेत,भीएफएमका संस्थापक महेश प्रसाईं , पोखरा समाजका उपाध्यक्ष तारा गुरुङ, युवा अभियन्ता विजय शर्मा लगायतले यस अभियानमा सबैको साथ रहने बिश्वास ब्यक्त गरेका थिए।
कार्यक्रममा आयोजक रकडेल ब्वाइजका संयोजक शितल खाँंड गिरीले सिड्नीमा छरिएर रहेका नेपाली युवाबीच आपसी भाइचारा र सहकार्य गर्ने उद्देश्यले संस्थाको गठन भएको र यसले मुलुक र समाजको हितमा हुने रचनात्मक कार्यहरूमा प्रत्यक्ष सहभागिता जनाउँदै आएको बताए।
कार्यक्रममा आउँदै गरेको नयाँ वर्ष र क्रिसमसको शुभकामना समेत आदानप्रदान गरिएको थियो।