केही महिनाअघि मात्र अर्वन क्षेत्रको ट्रेन स्टेसन नजिक केही स्थानमा नेपाली भाषामा पोस्टर टाँसिएका थिए। ति पोस्टरमा लेखिएको थियो ‘तोप यहाँं पाइन्छ, सम्पर्क गर्नु होला।’ तोपको अर्थ हो गाँजा।
केही दिनपछि अर्वन क्षेत्रमा रहेका नेपाली समुदायका अगुवाले ती पोस्टर च्यातेर प्रहरीलाई खवर गरिदिए। तत्काललाई खुल्ला रुपमा हुने कारोबार रोकियो। अहिले फेरि बरउड स्टेसन वरपरका बिजुलीका पोलमा नेपाली धार्मिक भाषामा गाँजाको व्यापार गर्नेगरी पोष्टर टाँसिएको छ।
शिवजी प्रसाद र भोले बाबाको प्रसाद घरमै डेलिभरी गरिदिने सूचनाले फेरि यहाँको नेपाली समाजलाई तरंगित पारिदिएको छ। डिसेम्बरको पहिलो हप्ता पोलमा देखिएका केही पोष्टरमा लेखिएको छ, ‘भोले बाबाको प्रसाद घरमै डेलिभरी गरिनेछ, त्यसका लागि विकर मी एप्समार्फत अर्डर गर्न सकिनेछ।’
अस्ट्रेलियाजस्तो विकसित देशमा फरक पहिचान बोकेर बसेको नेपाली समाजभित्र देखिएको यस किसिमको प्रवृत्ति अत्यन्तै लाजमर्दो छ। लागु पदार्थका डिलरहरुले नेपालीलाई टार्गेट गरेर नेपाली भाषाकै प्रयोग मार्फत आफ्नो अवैध धन्दा चलाउन खोजेको हुनसक्ने जानकार बताउँछन्। तर यसमा कुलतमा फसेका नेपालीको संल्गनता हुन सक्ने देखिन्छ।
पछिल्ला दिनमा यहाँका नेपाली मानसिक तनाव, आत्महत्या, घरेलु हिंसाजस्ता घटनामा मुछिए पनि लागु पदार्थम खासै संलग्नता देखिएको थिएन। यस किसिमको गलत प्रवृत्तिले अस्ट्रेलियामा भएका नेपालीको प्रतिष्ठामै आँच पुग्ने बताउँछन् कानुन व्यवसायी भरत पोखरेल।
यसरी खुलेआम सूचना टाँसेर भोले बाबाको प्रसाद भन्दै गाँजाको व्यापार गर्नु आफैमा अपराध पनि हो। यो लागु पदार्थ बेचबिखन कार्यभित्र पर्ने हुनाले जेल सजाय हुने व्यवस्था छ। ‘कतै नयाँ पुस्ता गलत बाटोमा त लागेको छैन या सेवनसँगै अपराधिक गतिविधि त मौलाएको छैन भनेर खोज्ने बेला आएको छ’ पोखरेलले भने। करिब पचपन्न हजार नेपाली विद्यार्थी उच्च अध्यनका क्रममा अस्ट्रेलियामा छन्।
सबैभन्दा बढी तीस हजारको हाराहारीमा सिड्नीमै रहेको तथ्यांकले देखाउँछ। गाँजाका यस्ता विषय सुन्दा आफू अचम्मित भएकोएनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मी बताउँछन। यस्ता गतिविधि रोकथामका लागि एनआरएन अस्ट्रेलियाले स्थानीय सरकारको सहकार्यमा चेतना अभियान तथा कार्यक्रम आयोजना गर्ने योजना समेत बनाएको उनले बताए।
सिड्नीका अर्का वकिल खिलेन्द्रराज तिम्सीना गाँजाको प्रयोग, बेचबिखन र ओसार पसार अस्ट्रेलियाका सबै राज्यमा अवैद्य भएकाले यस्ता क्रियाकलापबाट नेपाली विद्यार्थी सचेत हुनुपर्ने बताउँछन्। यसलाई रोक्न र नेपाली विद्यार्थीलाई कुलतबाट बचाउन राजदूतावास र सम्बद्ध संघ संस्थाले अभियान चलाउनुपर्ने खाँचो औंल्याउँछन् तिम्सीना।
खुलेआम नेपाली भाषामा सूचना प्रकाशित गरेर गाँजाको ब्यापार गर्ने कुरा डरलाग्दो भएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष अजय राजवंशीले बताए। यसअघि अर्वन क्षेत्रमा यस्तो पोष्टर देखिएकोमा पछि प्रहरीलाई खबर गरेपछि हटाइएको सम्झना गर्दै राजवंशी भन्छन् ‘गलत क्रियाकलापले समाज र देशकै बेइज्जत हुने हनाले यसलाई रोक्न समाजिक संघ संस्था अगाडि आउनुपर्छ।’
अस्ट्रेलियाका केही राज्यका स्थानीय सरकारले गाँजाको केही मात्रालाई बैद्यता दिने निर्णय गरेता पनि केन्द्रीय सरकारको निर्णय भइनसक्दा कार्यान्वयनमा आउन सकेको छैन।