नेपालीहरुको बाक्लो बस्ती रहेको सिड्नीका संगीतप्रेमीहरु यतिबेला सांगीतिक समूह नेपथ्यको व्यग्र प्रतिक्षामा छन्।
एक्सपर्ट नेपथ्य लाइभ इन सिड्नी नाम दिइएको यस पटकको अभियान आगामी डिसेम्बर १४ तारिखका दिन सिड्नीको चर्चित लुना पार्कको बिग टप इभेन्ट्स हलमा आयोजना हुने छ। लुना पार्कको सो हल तीन हजार दर्शक अट्ने क्षमताको छ।
कर्णप्रिय गीत संगीत र लोक लयको मिठाससँगै देश भक्तीका प्रस्तुती दिन खप्पिस नेपथ्यका ‘जोमसोमै बजारमा.., भेडाको उन जस्तो.. यो जिन्दगानी.., रातो र चन्द्र सुर्य..जस्ता गीतहरुले संगीतप्रेमीलाई जतिबेला पनि तानिरहेको देखिन्छ।
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसको प्रस्तुतीका रुपमा रहने नेपथ्य सिड्नी लाइभको कार्यक्रममा करिब तीन हजार दर्शकहरुको उपस्थ्तिि रहनेअपेक्षा गरिएको आयोजक नेपाल टचका निर्देशक राजकुमार गोश्वामीले बताए।
हालसम्म दुई हजार टिकट बिक्री भैसकेको र केही दिनभित्रै बाँंकी पनि बिक्री भइसक्ने गोस्वामीले बताए। सो प्रस्तुतीमा एक्सपर्ट एजुकेशनलाई जोड्न पाउनु गर्वको विषय भएको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए। नेपथ्यको यो चौथो पटक अष्ट्रेलिया भ्रमण हो । नेपथ्यले सन् २००९ मा पहिलो पटक अष्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेको थियो।
विदेशमा रहेका नेपाली र उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीको चाहना र रोजाइमा पनि नेपथ्य परेकोले एक्सपर्ट प्रस्तुतकर्ताका रुपमा अगाडि सरेको यसका अर्का निर्देशक सन्जिव शर्माले बताए।
निर्देशक शर्माले भने ‘आरोह र अवरोहबीच नेपथ्यले नेपाली संगीत क्षेत्रमा कमाएको ख्याति र दर्शकको अपार माया लोभलाग्दो छ, यसलाई जति प्रशंसा गरेपनि कम हुन्छ।’
यस अघि नेपथ्यले अस्ट्रेलियाका दुई शहरहरु ब्रिसबेन र डार्बिनमा प्रस्तुती दिइसकेको छ भने दुवै कार्यक्रममा दर्शकको घुइँचो लागेको थियो। नेपथ्यको अस्ट्रेलिया भ्रमणलाई यस पटक चिरपरिचित इभेन्ट कम्पनी नेपाली टच अस्ट्रेलियाले संयोजन गरेको हो।