गैरआवासीय नेपाली संघ(एनआरएनए) अस्ट्रेलियाले संकलन गरेको बीस हजार डलर न्यु साउथवेल्स रुलर फायर सर्भिसलाई हस्तान्तरण गरेको छ।
अस्ट्रेलियाको विभिन्न स्थानमा केही दिनदेखि जंगलमा लागेको डढेलोका कारण धनजनको क्षति हुनुका साथै हजारौं मानिस प्रभावित बन्न पुगेका थिए।
यसै क्रममा स्थानीय तहमा एनआरएनले सहयोग संकलन अभियान थालनी गरेको थियो।
दुई दिनभित्र नै लक्ष्यभन्दा बढी सहयोग रकम उठेको र सोही बमोजिम बीस हजार डलर ग्रामीण दमकल सेवा विभागलाई प्रदान गरिएको आर्थिक संकलन समितिका संयोजक तथा एनआरएनएका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
एनआरएन ग्लोबल उपाध्यक्ष मन केसी, अध्यक्ष केशव कडेंल, कोषाध्यक्ष अनिल पोखरेल,युवा संयोजक इर्शाद अहमद,नारि निकुन्जकी संयोजक सन्ध्या शाह,पूर्व कोषाध्यक्ष डिला खरेल लगायतको टोलीले सो रकम एनएसडब्लुका ग्रामीण दमकल विभागका निर्देशक सेन फिच्सीमोन्सलाई हस्तान्तरण गरेका थिए।
जन्मभूमिको सेवामा लागिपरेको एनआरएनले कर्मभूमीमा आपतविपत पर्दा पनि आफ्नो भूमिका देखाउनुपर्छ भन्ने मान्यता बमोजिम सहयोग रकम संकलन अभियान सुरू गरिएको एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मीले बताए।
दस हजार लक्ष्य लिएर उठाइएको सहयोग रकममा बीस हजार डलर जम्मा भएको थियो।
स्थानीय अभियन्ता तथा कानुन व्यवसायी शम्सेरसिंह थापाले सामाजिक सञ्जालमार्फत् अस्ट्रेलियाको आगलागीमा नेपाली समुदाय सहयोगमा जुट्नु पर्ने आह्वान गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरू यस अभियानमा जुटेका थिए।