काठमाडौंको एउटा रात्री क्लबमा पूर्वराजाले नृत्य गरेको गीत ‘रातो र चन्द्रसूर्जे’ नेपाली समुदायका बीच थप चर्चित भइरहेकै बेला त्यसलाई झण्डै डेढ दसकदेखि गाउँदै आएको नेपथ्यले ब्रिसबेनमा सुनाउँदा यताका दर्शक पनि उत्तिकै उत्साहित बन्नपुगे।
ब्याण्डको यसवर्ष श्रृंखलावद्ध अस्ट्रेलिया यात्राको प्रथम विन्दु ब्रिसबेनमा यसरी मंगलबार नेपथ्यको कन्सर्ट भव्यरूपमा सफल भएको छ। अस्ट्रेलियाको तेस्रो ठूलो सहरमा नेपथ्यको यो चौथो प्रस्तुति हो।
एक दसक अघिसम्म पनि मुश्किलले करिब हजार नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरू विस्तारै बढ्दै गएका छन्।
सहरकै नयाँ साजसज्जासहित खुलेको ‘फोर्टिच्युड म्युजिक हल’को क्षमता भरिनेगरी दुई हजारभन्दा बढी दर्शक कार्यक्रममा अटाएका थिए। स्थानीयका अनुसार आजसम्मै कुनै पनि नेपाली कार्यक्रममा यति धेरै दर्शक जुटेको संभवत यो पहिलोपटक थियो।
‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबभन्दा व्यवस्थित प्रस्तुति पनि बन्न पुगेको छ,’ आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’ का टोली सदस्य सुनिल बस्नेत भन्छन्, ‘यो सहरमा जति संख्यामा नेपाली बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलो सफलता हो।’
मंगलबार ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अस्ट्रेलियामा सुरू गरेको यात्राको छ प्रस्तुतिमध्ये पहिलो कार्यक्रम सम्पन्न गरेको छ।
‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरू प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरूले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरू पनि बोकेका हुन्छन्।’
त्यसैगरी नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाउँदा यहाँका स्रोतादर्शक असाध्यै रमाएका देखिन्थे।
विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरुले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजहरुबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन्। कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो।
नेपथ्यको अस्ट्रेलिया श्रृंखलालाई सिड्नीस्थित ‘नेपाली टच’ले संयोजन गरिरहेको छ भने ब्रिसबेनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्स’ले आयोजना गरेको थियो।
टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ, जहाँ नोभेम्बरको २२ तारिख फेरि नेपथ्य घन्किने छ।
त्यहाँस्थित स्थानीय आयोजक ‘गोर्खा पल्टन’ले नेपथ्यलाई शुक्रबार बेलुकी ‘इटालियन क्लब’मा उपस्थित गराउँदैछ।
अस्ट्रेलियाको ६ वटा राज्यमा सांगीतिक यात्रा गर्ने नेपथ्यले यसपाला आफूलाई यस मुलुककै फरक द्वीपमा उभिएको राज्य तासमानियाको राजधानी होबार्टमा समेत पहिलोपटक उभ्याउँदैछ।
यो यात्राको अन्त्य भने डिसेम्बरको २३ तारिख मेलबर्नको क्राउनस्तिथ‘पाल्म्स’मा पुगेर हुनेछ ।