पछिल्लो हप्ता एक वर्षे मल्टिपल भिषामा अस्ट्रेलिया आएका रमेश (नाम परिवर्तन) तीन महिनाको प्रारम्भिक बसाइ सकेपछि इन्डोनेशियाको बाली गए।
केही दिन बाली बसेपछि पुनः अस्ट्रेलिया फर्कन लाग्दा उनलाई अस्ट्रेलियाको अध्यागमनले समायो। अध्यागमनले तुरून्तै उनको मोबाइल र अन्य बिषयको जाँच गर्यो र तुरन्तै भिषा रद्द गरेर नियन्त्रणमा लियो।
अस्ट्रेलयाले घुम्न तथा आफन्त भेट्न आउने विदेशी नागरिकलाई एक वर्षे मल्टिपल भिषा दिन्छ। सो भिषा पाएका व्यक्ति बढीमा ३ महिनासम्म अस्ट्रेलिया बस्न पाउँछन्। त्यसपछि अनिवार्यरूपमा अस्ट्रेलिया छोड्नुपर्छ। तीनमहिनापछि अस्ट्रेलिया छाडेपछि पुनः अस्ट्रेलिया प्रवेश गर्न पाइन्छ। तर पछिल्लो समय अस्ट्रेलियामै बस्नाका लागि नेपालीहरूमा अस्ट्रेलियाको यसै नियमको फाइदा उठाउँदै नजिकैको देश इन्डोनेशियाको बाली गएर फर्कने गरेका थिए।
यसरी फर्किदा अस्ट्रेलियाले सहजै अरु तीन महिना भिषा थप्छ।
तर यस पटक भने अस्ट्रेलियन प्रहरीले बाली ट्रान्जिटलाई केलाउने र मल्टिपल भिषाका नेपालीलाई छड्के नजरले हेर्न थालेपछि रमेश पक्राउ परेका हुन्।
पछिल्लो हप्ता रमेश पक्राउ परेर प्रहरी हिरासतमा रहँदैगर्दा फेरी यो हप्ता एक नेपाली महिलालाई अध्यागमनले आफ्नो नियन्त्रणमा लिएको छ। उनले पनि पुनः अस्ट्रेलिया प्रवेशका लागि रमेशको जस्तै उपाय लगाएकी थिइन्।
यसरी हप्तैपिच्छे नेपाली पक्राउ पर्न थालेपछि भिषाका लागि बाली ट्रान्जिटको उपयोग नेपालीको लागि खतरनाक हुने देखिएको छ।
चेकजाँचका क्रममा अस्ट्रेलियाको अध्यागमनले रमेशको मोबाइलमा काममा आवेदन दिएको ज प्रमाण फेला पारेको थियो भने दोस्रो महिलालाई पनि काम गरेको आधार संकेत गर्ने जानकारी भेट्टाएको थियो। भजिट भिषामा आएर काम गर्नु गैर कानुनी हो र उनीहरू दुबै यसैको आधारमा पक्राउ परेका हुन्।
यसरी बिमानस्थलको अध्यागमनमा पक्राउ गरिएकाहरूको भिषा रद्द गरिन्छ।
यसरी भिषा रद्द गर्नेबित्तिकै कुनै पनि मुलुकका नागरिक बिना प्रवेशाज्ञा बस्न नमिल्ने कानुनी प्रावधानलाई अनुसरण गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूलाई नियन्त्रणमा लिने गर्छ।
प्रहरी नियन्त्रणमा हुने व्यक्तिले कम्तिमा १० हजार डलर धरौटी राखेर बाँकी बक्यौता काम र सर सामान मिलाएर फर्किने सर्तमा रिहा हुन सक्छ तर त्यत्रो पैसा तिरेर बाहिर निक्लनुको कुनै अर्थ भने रहदैन।
कुनै पनि ब्यक्ती जुन प्रयोजनमा अस्ट्रेलिया आएको हो त्यही प्रयोजनमा सिमित रहनुपर्ने बताउँछन, कानुन व्यावसायी भरत पोखरेल।
'मल्टिपल भिषा दिदैमा एक वर्ष बस्नै पर्छ भन्ने होइन, आउन मन लागे स्वदेश फर्केर फेरी आए भैहाल्छ तर केहि व्यक्तिहरूले यसलाई गलत प्रयोजनमा प्रयोग गर्दाको परिणाम हो यो', पोखरेलले भने।
विभिन्न कार्यक्रमका नाममा गैर-कलाकारहरु ल्याउने र यतै छाड्ने अनि दिएको सुविधालाई गलत व्याख्या गर्न थालेपछि यस्ताखाले समस्याहरु आउने गरेको पोखरेलको भनाइ छ।
हुन त अस्ट्रेलियामा अध्यागमन नीती कसिलो बन्दैगर्दा अहिले स्थायीत्वको सवालमा धेरै खाले समस्याहरु देखिएका छन।
अहिले नेपाल बिध्यार्थीको अस्ट्रेलियन शैक्षिक वर्गिकरणमा तेस्रो स्थानमा झरेको छ।
हामीले पाएको सुविधालाई गलत ढंगवाट व्याख्या गर्दा यस्ता समस्याहरु देखिएको एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मी बताउँछन।
पछिल्ला केही घटनाक्रममा नेपालका राम्रा कलाकार र मिस नेपाल र राजनीतिक व्यक्तिहरूलाई समेत प्रवेशाज्ञा नदिनुमा यस्तै खराब प्रवृती दोषी रहेको रेग्मीको भनाइ छ।
कला संस्कृतिका नाममा गरिने मेला महोत्सवमा गलत ब्यक्तीहरुको संलग्नताको सवाल उठिरहेको परिस्थितिमा कतिपय राम्रो कामले पनि जस पाएको देखिदैन।
भिषा र अध्यागमन सम्वन्धी काम कारबाहीमा सम्वन्धीत निकायसँग सोधेर काम गर्दा यस्ता समस्या नआउने रेग्मीले बताए।