हुन त यसभन्दा पहिले पनि एनआरएनमा राजनीति नभएको भने होइन।
आशिर्वाद र आश्वासनका राजनीतिक शब्दजालमा उम्मेदवार कही न कही बेरिन्थे र विजय प्राप्त गर्थे।
पछिल्लो चुनावमा पनि अस्ट्रेलियाका जमुना घले र जापानका भवन भट्ट चुनावी मैदानमा भिड्दै गर्दा पार्टीको उम्मेदवार बन्न चाहेनन्।
कसैले भट्टलाई त कतिले जमुनालाई कांग्रेसको उम्मेदवार भन्दै लबिङसम्म गरेको देखियो। तर ठ्याक्कै राजनीतिक दलमा विभक्त भएर दलीय सिन्डिकेटमा यसपटक चुनाव भयो।
पार्टीको उम्मेदवारसहितको लिस्ट मोबाइल र पर्चाहरूमा वितरण भैसकेपछि एनआरएन यस पटक दलगत सिन्डिकेटमा पार्टीको भातृ संगठनझैं देखियो।
होटल हायातमा चुनावी मेला भर्न आउनेहरू कही न कही राजनीतिमा बेरिएका थिए नै। त्यसमाथि पनि पार्टीका ठूला भनाउँदा नेतादेखि सानाकासमेत चहलपहल बेग्लै थियो चुनावी माहौलमा। ‘दाजु जय नेपाल’ र ‘कमरेड लालसलाम’को गुञ्ज होटल हायातभरि फैलिएको थियो।
विधानत: कुनै पनि राजनीतिक दलको संगठित सदस्य भएको व्यक्ति एनआरएनको पदाधिकारी बन्न पाउँदैनन्। तर यो विधानलाई माथ दिए उम्मेदवारले।
अन्तर्राष्ट्रिय जगतमा विश्वासिलो साझेदारका रूपमा चिनिएको गैर आवासीय नेपाली संघ आफ्नै प्रतिष्ठामा खस्किएका देखियो।
हुन त एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि यस पटक संस्थामा राजनीतिक घुसपैठ भएको भन्दै बहिष्कार नै गरे।
यो संस्थाको लागि अर्को दुर्भाग्यको विषय रह्यो।
विश्वभर छरिएर रहेका प्रवासी समाजको छाता संगठनभित्र राजनीतिक प्रवेशको आफ्नै कथा छ। सामाजिक सेवाभावमा लगनशील एनआरएनभित्र पछिल्लो एक दशकको यात्रामा व्यक्तिगत राजनीतिले संस्थागत प्रभाव परेको थिएन।
तर यस पटक भने एनआरएनको चुनावमा नेपाली कांग्रेस र नेकपाको दुई टोलीबीचको भिडन्त हेर्न लायक रह्यो। साँच्चिकै भन्नुपर्दा नेपाल कम्युनिष्ट पार्टीभन्दा नेपाली कांग्रेस यस पटक खुलेरै एनआरएनको राजनीतिमा बढी देखियो।
कांग्रेसले देख्ने र सुन्ने गरी नै महामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा उम्मेदवार चयन समिति नै गठन गरियो। दुई पटक उपाध्यक्ष बनेका कुमार पन्त अध्यक्षका प्रवल प्रत्यासी थिए तर अर्का उपाध्यक्ष कुल आचार्यलाई अगाडि सारेर केही स्वार्थीहरूले आफ्नो अभिष्ट राजनीतिक चाहना पूरा समेत गरे।
एनआरएनका जित्ने होस् या हार्ने सबै चिनिएका र गनिएका सामाजिक अभियन्ताहरू नै थिए तर चुनावपछि उनीहरूमा लागेको नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको लेभलले भने उनीहरूलाई हेर्ने दृष्टिकोणमा फरक पारेको छ। त्यति मात्र होइन केही उम्मेदवारले महत्वपूर्ण पदमा अड्डी कसेर नोटका गड्डी पनि हात पारेको कथा सुनिँदै छ। हार र जित अनि नाटक र नौटंकीभन्दा माथि उठेर महत्वपूर्ण बहसहरूमा खाली रहे। प्रतिवेदन र कार्यपत्रहरू सुन्ने र छलफलमा कसैलाई फुर्सद नै भएन। निर्वाचनको महत्वपूर्ण विषयमा कार्यसमिति विवश देखियो।
निर्वाचन समिति इ भोटिङ हुन नसक्नुमा जिम्मेवार पदाधिकारीदेखि सचिवालयका कर्मचारीको अदूरदर्शिता झल्कियो।
गैरआवासीय नेपाली संघको कर्मलाई मर्मदेखि स्पर्श गरेका अस्ट्रेलियाका कानुन व्यवसायी शम्सेरसिंह थापा भन्छन्, ‘सामाजिक सेवाभावमा राजनीतिक घुसपैठ कतै सुहाउँदैन,त्यसैले पनि गैरआवासीय नेपाली संघमा राजनीति पस्नु हुँदैन भन्ने हाम्रो चाहना थियो, आखिर खुल्लम खुल्ला दलीय निर्वाचनझैं हुन थाल्यो,जुन हामीजस्ता शुभचिन्तकहरूको लागि चिन्ताको विषय हो।’
संस्था जन्मेदेखि हुर्केसम्म सँगसँगै गाँसिएका सिड्नीका अभियन्ता थापा भन्छन, ‘केही अगाडिदेखि राजनीतिक दलहरूले चासो देखाएका थिए तर अहिले हाम्रै साथीहरू टिकट माग्न जानुभयो,यो सबभन्दा दु:खदायी विषय हो।’
यो विशुद्ध सामाजिक संस्था भएकोले हिजोका दिनहरूमा पनि शेष घलेलगायतले यसमा मलजल हाल्दै गर्दा यसको रौनक निकै बढेको थियो।
संस्थाको प्रतिष्ठाको सवालमा सरकारले समेत यसलाई महत्वको विषयभित्र राखेको थियो।
प्रधानमन्त्रीको औपचारिक भ्रमणदेखि आधिकारिक कार्यक्रममा समेत एनआरएनलाई समावेश गराइन थालिएको छ।
पछिल्ला एक दशकदेखि मुलुकको विकास निर्माण र आपत विपतमा एनआरएन कहलिएकै थियो।
८० लाख गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्ने यो संस्थाको परिचय स्थापित गर्न यसका पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले र भवन भट्टले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्। घलेले सुरू गरेका कैयन् महत्वाकांक्षी योजनाहरू लाप्राक, एनआरएन भवन र शंखमुल पार्क भवन भट्टले पूरा गरेर नेतृत्वबाट बिदा भए।
एनआरएनको मूल भावका रूपमा रहेको सामाजिक अभियानलाई अगाडि बढाउने जिम्मेवारी अहिलेको नेतृत्वमा आएको छ।
कुमार पन्तको नेतृत्वको टोलीले पदलाई अस्थायी सम्झेर राजनीतिलाई बिर्सेर अनि गरिमामय गैरआवासीय नेपाली संघको अभियानमा नि:स्वार्थ भावना र समपर्णमा लाग्ने बेला आएको छ।
औपचारिक पदभन्दा संस्थाको हितका लागि गतिशील भएर सबै हात एकै साथ बनाएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो।
नत्र यसका हितैषीहरूले भन्न थालेका छन्,‘राजनीति पस्यो,एनआरएन फस्यो’।