अस्ट्रेलियाको विभिन्न भागमा भिषण डढेलो लागेपछि यस विपतमा सहयोग गर्न नेपाली मूलका नागरिक अगाडि सरेका छन्।
यसअघि न्यू साउथ वेल्सकी प्रमुख ग्ल्याडिज बेरेजिक्लियनले पचासभन्दा बढी स्थानमा एकै पटक आगजनी सुरू भएपछि राज्यलाई एक हप्ता आपतकालीन अवस्थामा रहेको घोषणा गरेकी थिइन्। हाल एनएसडब्लु राज्यका ६० वटा ठाउँमा आगलागी भइरहेको छ जसमा ४० वटा नियन्त्रण बाहिर रहेका छन्।
क्विन्सल्यान्डमा पनि करिब ५० स्थानमा आगलागी भएको छ।
अस्ट्रेलियाका डढेलो पीडितका लागि यहाँ रहेका नेपाली समुदाय र एनआरएनले संयुक्त रूपमा विभिन्न माध्यमबाट सहयोग संकलन सुरू गरेका छन्।
‘जन्मभूमिसँगै कर्मभूमिप्रतिको दायित्वबोधलाई मध्यनजर गरेर हामीले रेडक्रसको माध्यमबाट सहयोग गर्ने अभियान सुरू गरेका हौं’, ओसेनिया एजुकेसनका सन्दीप खनालले भने।
बीस हजार डलर उठाउने उद्धेश्यका साथ प्रारम्भ गरेको सहयोग अभियानमा पहिलो दिन करिब दुई हजार डलरको सहयोग प्राप्त भैसकेको छ। यस्तै, गैरआवासीय नपाली संघ अस्ट्रेलियाले पनि ‘गो फन्ड’ मार्फत् सहयोग संकलन सुरू गरेको छ।
१० हजार डलर उठाउने लक्ष्य लिएको एनआरएनले पहिलो दिन चार हजार डलर संकलन गरेको छ।
‘यो विपतको समयमा हामीले कर्मभूमिप्रतिको आफ्नो दायित्व पूरा गरेका हौं, सहयोगी हातहरूमध्येका एक कानुन व्यवसायी शम्सेरसिंह थापाले भने।
‘जन्मभूमिप्रतिको मायामा हामी जसरी एकाकार हुन्छौं। त्यस्तै कर्मभूमिलाई गारो सारो पर्दा पनि त्यसमा होमिनु हाम्रो कर्तव्य हो। हिजो अस्तीदेखि नै यो विषयलाई मैले अगाडि सारेको थिए अहिले आएर व्यक्तिगत र संस्थागत रूपमा नेपाली समुदाय सहयोगका लागि अगाडि सरेको छ,यसमा सबैले सहयोग गर्न जरूरी छ’, थापाले थपे।
गर्मी र हावाहुरीको मौसम र सुख्खासँगै अस्ट्रेलियामा डढेलोको जोखिम बढ्ने गर्छ। हालसम्म न्यु साउथ वेल्स राज्यमा मात्रै १ सय ५० घर आगलागीको चपेटामा छन् भने ६ सय विद्यालय बन्द भएका छन्।
अझसम्म तीन जनाको ज्यान गएको यस आगलागीमा अर्बौंको धनजनको क्षति भैसकेको अनुमान गरिएको छ।