अस्ट्रेलियाको न्यू साउथ वेल्समा यो हप्ता भीषण डढेलो लाग्ने अग्नी प्रमुखहरूले चेतावनी दिएका छन्।
मंगलबार उच्च तापक्रम र कडा हावाहुरीको सामना गरेसँगै न्यू साउथ वेल्स अष्ट्रेलियाका अग्नी प्रमुखहरूले यो हप्ता कहिल्यै नदेखिएको देशकै सबभन्दा खतरनाक डढेलो लाग्ने चेतावनी दिएका हुन्।
उनीहरूले न्यू साउथ वेल्सले मंगलबार अभूतपूर्व विनाशकारी आगलागीको सामना गर्नु परेको बताएका छन्।
यसअघि न्यू साउथ वेल्सकी प्रमुख ग्ल्याडिज बेरेजिक्लियनले राज्यलाई एक हप्ता आपतकालीन अवस्थामा रहेको घोषणा गरेकी थिइन्।
हाल राज्यका ६० वटा ठाउँमा आगलागी भइरहेको छ जसमा ४० वटा नियन्त्रण बाहिर रहेका छन्। क्विन्सल्यान्डमा पनि करिब ५० वटा ठाउँमा आगलागी भएको छ।
यसबाट तीन जनाको मृत्यु भइसकेको छ भने १५० भन्दा बढी घरहरू पूर्ण क्षति भएको छ।
मंगलबारको जोखिमपूर्ण आगलागी नियन्त्रण गर्न देशभर १३ सय स्वयमसेवी अग्नी नियन्त्रकहरू खटिने अनुमान गरिएको छ। आगलागी नियन्त्रण गर्न भने असम्भव नरहेको बताइएको छ। झाडीमा लागेको आगोका कारण यस वर्ष मात्रै राज्यको ८ लाख ५० हजार हेक्टरभन्दा बढी जमिनमा आगलागी भएको द गार्जियनले जनाएको छ।
प्रकोपका कारण हजारौं जना घरविहीन भएका छन् भने सयौं विद्यालय बन्द गरिएको छ।