हाल बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई छाड्न माग गर्दै अस्ट्रेलियाको क्यानेबरास्थित संसद भवन चढेका एक जना प्रदर्शनकारीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।
नाम गोप्य राखिएको सो व्यक्तिले संसद भवन चढेर टुप्पामा रहेको राष्ट्रिय निशानमाथि जुलियन असान्जलाई जेलमुक्त गर भन्ने नारा सहितको ब्यानर टाँगेका थिए।
अस्ट्रेलियन नागरिक तथा विकिलिक्स संस्थापक असान्ज आफूलाई अमेरिका सुपुर्दगी नगरियोस् भन्दै कानुनी लडाइँका बीच हाल बेलायती कारागारमा बन्दी छन्।
असान्जलाई अमेरिकी सरकारविरूद्ध जासुसी गरेको र राष्ट्रिय महत्वको विषयमा कम्प्युटर ह्याक गर्ने षडयन्त्र रचेको आरोप छ। असान्जलाई अमेरिकाकै पूर्वसैन्य विशेषज्ञ चेल्सी म्यानिङको सहकार्यमा अमेरिकी सरकारको गोप्य जानकारीहरू हात पार्न पासवर्ड चोरी गरेको लगायत विभिन्न १८ आरोप लगाइएको छ।
संसद् भवनमा चढेर नीति निर्माता तथा सर्वसाधारणको ध्यान तान्न ती प्रदर्शनकारीले ‘जुलियनलाई घर फिर्ता गर’ भन्ने नारा समेत लगाएका थिए।
माथि चढेको केही समयमै टाँगेको ब्यानर पट्याएर प्रदर्शनकारीले तल बसेको प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।
विगत सात वर्षदेखि लन्डनस्थित दक्षिण अमेरिकी राष्ट्र इक्वेडोरको दूतावासमा शरण लिँदै आएका असान्जलाई गत अप्रिलमा दूतावासबाट निकालिएपछि ब्रिटिस प्रहरीले हिरासतमा लिएको थियो।