गत अक्टोबरमा संसारभर छरिएर रहेका प्रवासी नेपालीहरू काठमाडौंमा जम्मा भएर गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो।
सम्मेलनमा सहभागी हुन करिब ८२ देशका तीन हजारभन्दा बढी रजिस्टार्ड एनआरएनहरू नेपाल पुगेका थिए। तीन दिन चलेको सम्मेलनको मुख्य विषय र आधार भनेको नेपाल र नेपालीको पहिचान र पदोन्नति नै थियो।
लगानी,व्यापार, शिक्षा,पर्यटन, जलविद्युत, स्वास्थ्य लगायतका विषयमा मुलुकलाई कसरी सक्षम र सबल बनाउन सकिन्छ भनेर घनिभूत छलफल पनि भए।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा रहेको मूल आयोजक कमिटी अनि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलनमा सुन्दर देश नेपाललाई गैरआवासीय नेपालीहरूले विदेशमा सिकेको ज्ञान सीप र लगानीले सिँचन गर्नुपर्दछ भन्दै शुभकामना प्राप्त भएका थिए।
मुलुकको आशा र भरोसालाई एनआरएनएका अग्रजहरू उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने, शेष घले,भवन भट्ट लगायतले कामका माध्यमले चरितार्थ गरेका पनि थिए। तर यस पटकको एनआरएनएको सम्मेलन सोचे अनुरूपको विशाल र भव्य हुन सकेन।
निर्वाचनमा सचिवालयको कमीकमजोरी स्पष्ट देखियो। इलेक्ट्रोनिक भोटिङ बिग्रनु , भोटरको संख्या ह्वात्तै बढ्नु र हतारमा कार्यालयमा सम्पन्न समापन समारोह केही खल्लो महशुस रह्यो।
यति ठूलो संस्थाको प्रतिवेदनहरूको व्यवस्थापन हुन नसक्नु,सहभागी र पदाधिकारीहरू कार्यक्रमभन्दा चुनावी लहरमा बढी व्यस्त देखिनु जस्ता कुराले यस पटकको विश्व सम्मेलन सोचे अनुरूपको भएको देखिएन।
महिनौंदेखिको तयारीमा बनाइएको कैयन् कार्यपत्र र प्रतिवेदनहरू सुन्ने मानिस पनि थिएनन् र आसनमा बस्ने पदाधिकारी पनि रहेनन्।
नेपाली सञ्चार जगतले जसरी एनआरएनएको सम्मेलनलाई महत्व दिने गर्थ्यो,यस पटक सकारात्मकभन्दा नकारात्मक समाचार मात्र बढी देखिए।
दुई वर्षमा एक पटक नेपाल र नेपालीप्रति समर्पित कैयन् कार्यक्रम र कार्यपत्रहरू ओझेलमा पारेर चुनावमा राजनीति दलको प्रवेश यस पटकको सबभन्दा दुखदायी विषय रह्यो।
अझसम्म कांग्रेस र कम्युनिष्टमा विभक्त नभएको एनआरएनए यसपकट खुलेआम राजनीतिक दलको दलदलमा डुबेको देखियो। कांग्रेसको लिस्ट र नेकपाको उम्मेदवारको लिस्ट मोबाइल र पर्चामा छरिन थाले।
होटल हायातमा सम्पन्न एनआरएनएको चुनाव दलीय भातृसंगठनझैं भयो। जुन यस संस्थाको मर्म र कर्म विरोधी थियो।
विधानत राजनीतिको र समेत उच्चारण गर्न नपाइने संस्थामा खुलेआम पार्टीका उम्मेदवार बने र चुनाव जिते पनि।
त्यतिमात्र होइन, होटल हायात तीन दिनसम्म राजनीतिक दलका ‘ठुटे नेता’हरूको अखडा नै बन्यो। संसारभरबाट नेपाल पुगेका एनआरएन दलीय ब्युरोमा विभाजित भए र यसको मर्ममाथि प्रहार गरे,जुन सबभन्दा खराब विषय थियो।
राम्रा र असल मानिसहरूको सहभागिता र दक्षतालाई प्राथिमकता दिइएन,कार्यसमितिका पदाधिकारीहरू पूरै चुनाव र नेता भेटघाटमा व्यस्त रहे।
यसै सन्दर्भमा गहुभित्र घुन भएझैं राम्रा र असल मानिसहरू भएको समूह, संस्था र समाजमा केही विसंगति र विकृति नहुने होइनन्। तर यस पटक अलि बढी नै भयो भन्नेहरू धेरै रहे।
व्यवहार र शैलीमा फरक, कमजोर प्रस्तुति, चरम राजनीति घुसपैठ अनि होहल्लाले प्रश्रय पाए पनि संस्थाको गरिमा र महत्व भने घटेको छैन।
यस पटक चुनावमा सहभागी हुनेहरूको संख्या ह्वात्तै बढेर तीन हजारभन्दा बढी पुगेको छ भने कतिपय देशमा भोटर बन्न नपाउँदा मारामारी नै चलेको विषयले पनि संस्थाको परिचय स्थापित गरेको छ।
एक दुई छिटपुट घटना र त्यसको गलत प्रचारले पनि एनआरएनएको सम्मलेनमा केही नकारात्मक सन्देश भने गएको हो।
यस पटक जेजस्तो भए पनि एनआरएनएको जुन परिचय स्थापित भएको छ, त्यसको प्रतिष्ठा अभिवृद्धि गर्न केही अनुशासन सिक्नुपर्ने भने पक्कै भएको छ।
आगामी दिनमा एनआरएनएका लागि भद्रता, शालीनता , सहयोगीपन, करुणा अपेक्षिकृत छ, हिजो जे भयो त्यसलाई बिर्सेर आगामी दिनमा मर्यादा र इज्जतको ख्याल गरी सोही अनुरूप व्यवहार गर्न जरूरी देखिन्छ।
ज्ञान, सीप र लगानी अनि भ्रमण वर्ष २०२० लाई सफल पार्ने गरी उल्लेखनीय काम गर्नु एनआरएनको अर्को दायित्व पनि छ।