अस्ट्रेलियाको भिक्टोरिया राज्यभर आगामी अक्टोबर महिनाको अन्त्यदेखि विदेशी तथा अस्थायी बसोबास गर्नेहरूको हकमा बढीमा छ महिनासम्म सम्बन्धित देशको लाइसेन्सले सवारी साधन चलाउन पाउने भएका छन्।
अस्ट्रेलिया सम्भवत विश्वकै पहिलो यस्तो राष्ट्र हो जहाँ नेपाली लाइसेन्सले सिधै गाडी चलाउन पाइने गर्दथ्यो। अस्ट्रेलियाका अन्य राज्यमा अहिले पनि नेपाली लाइसेन्सले सिधै सवारी साधन चलाउन पाइने प्रावधान रहेता पनि भिक्टोरिया राज्य अर्थात् मेलवर्न सहरवरपर अब छ महिनापछि गाडी चलाउन अस्ट्रेलियन लाइसेन्स अनिवार्य हुने भएको छ।
सवारी चालक इजाजत पत्रसम्बन्धी नियम अनुरूप अन्तर्राष्ट्रिय विद्यार्थीसहित अन्य अस्थायी आगन्तुकहरूले अब छ महिनापछि लाइसेन्सका लागि आवेदन दिन समेत आग्रह गर्दै छ महिनाको म्याद समेत दिइएको छ।
नक्कली लाइसेन्सको बिगबिगीका कारण हुने दुर्घटनाबाट बच्न र स्थानीय ट्राफिक नियममा अभ्यस्त हुन यो निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भिक्टोरिया राज्य सरकारले बताएको छ।
सुविधालाई गलत ढंगले व्याख्या गर्दै गएका कारण कैयौं आवश्यक नीति नियमहरू परिवर्तन हुँदै गएको देखिन्छ।
यस्तै, विगतमा दिइएका चार पाँंच सात भिसा रोक्नुको मुख्य कारण पनि यसको दुरूपयोग थियो भन्ने सरकारको ठम्याइ हो। डिपेन्डेड अर्थात् एक्लै पढ्नलाई आर्थिक रूपमा भार पर्ने हुनाले सहयोगी पार्टनरलाई कामसहितको अधिकार दिँदै गर्दा नक्कली डिपेन्डेन्ट र पैसाको मोलमोलाइले बजार गर्माएको परिस्थिति छ।