एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा शनिबार सिड्नीको लिभरपुल क्षेत्रमा धुमधामका साथ छठ पर्व मनाइएको छ।
साँझको अर्घ्य र आइतबार बिहानको अर्घ्य दिएर छठ पर्व मनाइएको जानकारी सो संस्थाका कोषाध्यक्ष राम प्रबल चौधरीले जानकारी दिए।
संस्थाको अध्यक्ष प्रवीण चौरासियाले छठ पर्व मनाउन विभिन्न समिति, उपसमितिहरू बनाइएको र प्रत्येक समितिहरूले आ-आफ्नो ढंगले जिम्मेवारी पूरा गरेकोले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको बताए।
सिड्नी र वरिपरि बसोबास गरिरहेका छठका ब्रतालु तथा तराई मधेशका नेपालीजनहरूको महत्वपूर्ण उपस्थिति रहेको कार्यक्रममा श्रद्धालुहरूले आकर्षक परम्परागत पहिरनमा सजिएर यस पर्वलाई धुमधामका साथ मनाएका थिए।
तराई मधेशको महत्वपूर्ण पर्वका रूपमा रहेको छठको आराधना र पूजाको प्रसाद ग्रहणको लागि सम्पूर्ण सिड्नीवासी नेपालीहरूलाई निमन्त्रणा गरिएको एन्टाका पूर्वअध्यक्ष तथा आइसिसी सदस्य अरुण कुमार ठाकुरले जानकारी गराए।
छठी शुभकामना तथा प्रसाद ग्रहणको लागि महावाणिज्यदूत दीपक खडका, एनआरएनए ओसेनिया संयोजक होम पाण्डे, सामाजिक अभियन्ता गणेश तामाङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।