नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ को धुमधाम तयारी गरिरहेको छ।
गोष्ठी र सेमिनार अनि प्रचारप्रसारमा पनि सरकारले करोडौं रुपैयाँका बजेट खर्चिसकेको छ। सचिवालयमा सयौं कर्मचारी कार्यरत छन् अनि नेपालमा मनग्य पर्यटक भित्र्याउने सरकारको योजना जारी छ।
यसरी राज्य नै मुलुकमा पर्यटक भित्राएर पर्यटन उद्योगलाई बढावा दिने उद्धेश्यमा लागेको बेला पर्यटक भित्रिने विमानस्थलको साँघुरोपन र अध्यागमन विभागको हेलचक्र्याइँ सबभन्दा ठूलो बाधकका रूपमा देखिएको विषयमा भने राज्य अनभिज्ञ रहेको देखिन्छ।
कुनै पनि दुई ठूला विमान एक घन्टाको अगाडि पछाडि विमानस्थलमा अवतरण गर्ने हो भने आगमन कक्षले त्यो भीड थाम्न सक्दैन अनि भिसा र अन्य अध्यागमन प्रक्रिया अत्यन्तै जटिल र असहज हुने हुँदा त्यसबाट पर्यटकहरू नराम्ररी प्रभावित हुने गर्दछ्न्।
पहिलो पाइलामै पर्ने प्रभावले पर्यटकलाई सताउँदै गर्दा उनीहरूको मनमस्तिष्कमा नकारात्मक सोचको विकास हुन्छ।
हङकङबाट काठमाडौं आउने ड्रागन एयरको विमान रातको साढे नौ बजे काठमाडौंमा अवतरण गर्छ तर त्यसमा रहेको करिब तीन सय यात्रु तथा पर्यटक विमानस्थल पार गर्न भीडभाडबीच करिब दुईदेखि तीन घन्टाको समय लाग्छ।
अझ भिसा लिने प्रक्रियामा रहेकाका लागि थप झन्झटिलो प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ।
आगमन कक्षको भीडबीच भिसा लगाउने प्रक्रियाका लागि कम्तीमा तीन वटा स्टेप पार गर्नुपर्छ।
पासपोर्ट स्क्यान गरेर मिसिनमा फर्म भर्नुपर्ने अनि त्यसको रिसिभ लिएर शुल्क बुझाउन जानुपर्ने। अनि सबैमा कम्तीमा तीसदेखि एक घन्टाको लाइन बस्नु पर्ने।
शुल्क बुझाएको रिसिभ बोकेर भिसा लिन अध्यागमनको लाइनमा बसेपछि बल्ल भिसाको स्टिकरसहित सामान लिन झर्नुपर्ने।
भिसा लिनका लागि अध्यागमनमा एकदमै भीडभाड हुने अनि कुनै कुरा पनि व्यवस्थित देखिँदैनन्।
मानिसहरू ठेलमठेल गरिरहेका थिए। कोही मानिसहरू सुतिरहेका थिए, केही विदेशीहरू आलस्य भएर लाइनमा बसेका देखिन्थे।
अमेरिकाको न्युयोर्कबाट आएका माइकल स्मिथले भीडभाडबीच हामीसँग भने, ‘कस्तो कठिन प्रक्रिया हो, हामी विमानबाट उत्रेको तीन घन्टा भैसक्यो अझै बाहिर निस्कन पाएका छैनौं।
होटलबाट लिन आएको गाडी फर्किन्छ कि भन्ने डर थियो उनलाई।
स्मिथले भने, ‘भिसा प्रक्रियामा मेसिनहरू बिग्रेका छन् अनि एउटै कामको लागि तीनस्थानमा लाइन बस्नुपर्ने झन्झटिलो प्रक्रियाबाट जो कोही पनि प्रभावित हुन्छ।’
विमानस्थलका स्क्यान गर्ने एक चौथाइ मेसिन बिग्रेका थिए। कुनैमा साइन थियो, कुनैमा थिएन, कुनै मेसिनको डिस्प्लेले काम गरेको थिएन।
भर्नुपर्ने फर्म पनि सिस्टमेटिक थिएन। स्ट्रिट नाम र नम्बर हाल्नुपर्ने तर नेपालको हकमा स्ट्रिट नाम र नम्बर क्लियर थिएन।
जसले गर्दा पहिलो पटक नेपाल पुगेका विदेशीहरूले फर्म भर्न नजान्दा अलमलमा परेका देखिन्थे।
फर्म भर्ने विधिका लागि हारगुहार गरे पनि कर्मचारी सेवाग्राहीबाट ओझेल पर्न खोज्थे। समस्याहरू सुन्न चाहँदैन थिए उनीहरू।
पटक/पटकको आग्रहमा बल्ल जवाफसम्म दिन्थे उनीहरू।
‘यो व्यवहारबाट आजित जो कोही पनि आक्रोसित हुनु स्वभाविक थियो त्यहाँको परिवेशमा’, अस्ट्रेलियाबाट नेपाल पुगेकी एनआरएनए अस्ट्रेलियाका सचिव उषा बारिया पोखरेलले भनिन्।
अस्ट्रेलियाबाट नेपाल घुम्न गएका पिटर आर्थरले सानो विमानस्थल र साँघुरो आगमन कक्ष अनि झन्झटिलो प्रक्रिया पर्यटकका लागि केही असहज रहेको तर्क पेश गरे।
दोस्रो पटक नेपाल पुगेका पिटर सुन्दर देश र मिजासिला नेपालीको व्यवहारका कारण पर्यटक नेपाल आउन चाहे पनि बन्द हड्ताल र झन्झटिलो प्रक्रियाले भने केही असहज बन्ने गरेको तीतो पोखे।
देशले लाखौं पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० को तयारी गरिरहेको र करोडौं रुपैयाँ खर्च गरिरहेको सन्दर्भमा पर्यटकको पहिलो पाइलाका रूपमा रहेको विमानस्थलको आगमन कक्ष र अध्यागमनको झन्झटिलो प्रक्रियाको बारेमा राज्यले तुरुन्तै कदम चाल्नुपर्ने बताउँछन्, सिड्नीका सञ्चारकर्मी डिल्ली ढकाल।
‘जब विदेशीहरू पहिलो पटक नेपाल पुग्छन् उनीहरूमा पर्ने पहिलो प्रभाव सकारात्मक हुनुपर्छ,तर यहाँ उल्टो छ, पर्यटक भित्र्याउन करोडौं रुपैयाँ खर्च गरेर भ्रमण वर्ष मनाउने अनि विमानस्थलमा भने पर्यटकले दु:ख पाइरहने’, ढकालले राज्यले नीतिमा सुधार ल्याउनुपर्ने तर्क गरे।
यति मात्र होइन अध्यागमनका कर्मचारीको ‘दादागिरीपना’को पनि कुनै जवाफ थिएन त्यहाँ।
भिसाका भिन्न काउन्टरहरूमध्ये आधी काउन्टर खाली र आधी काउन्टरमा चापाचाप थियो।
स्वभाविक रूपमा विदेशमा आउने पर्यटकहरूले खाली देखिएका काउन्टरबाट प्रक्रिया अगाडि बढाउन आग्रह गर्दा हाम्रो काम होइन, ठूला कुरा गर्ने, विदेशमा बसेर मातिएका जस्ता हेपाहा शब्दहरूको ओइरो सुन्नुपरेको एक सेवाग्राहीले बताए।
करिब दुई हप्ताअघि एनआरएनए सम्मेलनमा भाग लिन गएका अस्ट्रेलियाका प्रतिनिधिहरूलाई अध्यागमन विभागले तोडफोड गरेको आरोप लगाउँदै कारबाही समेत गरेको थियो। तर अध्यागमनको झन्झटिलो प्रक्रिया अनि हेपाहा प्रवृत्ति र गलत रवैयाले जो कोही पर्यटकहरू पनि आक्रोशित हुनु स्वभाविक भएको त्यस घटनाका प्रत्यक्षदर्शी दीप सापकोटा बताउँछन्।
तपाई तीन घन्टा लाइन बसेर भिसा लिने बेलामा अध्यामगनका कर्मचारीको गाली गलौजको शिकार हुनुहुन्छ भने जो काही पनि स्वभाविक रूपमा आक्रोशित हुन्छन्।
टेबलमा हान्नु गलत थियो तर त्यो वातावरण सृजना गर्ने अध्यामगनका कर्मचारी पनि त्यत्तिकै जिम्मेवार छन्।
जे होस् राज्य पर्यटक भित्र्याउने लक्ष्यमा लागेको छ तर सोही बेला विमानस्थलको बेहाल र अध्यागमनको लापरबाहीको विषयमा भने सम्बन्धित निकायले ध्यान पुर्याउन जरूरी देखिन्छ।