प्रेस स्वतन्त्रतामाथि सरकारले विस्तारै अंकुश लगाउने कानुन ल्याउन थालेपछि सरकारलाई दबाब दिन सोमबार अस्ट्रेलियाभरका प्रमुख सञ्चार संस्थाहरूले आ-आफ्नो पत्रिकाको पहिलो पृष्ठमा कालो पोतेका छन्।
एबिसी, एसबिएस ,नाइन न्युज , न्युज कर्प अस्ट्रेलिया र गार्जियन लगायतका सञ्चारमाध्यमले विगत २० वर्षयता क्रमिक रूपमा ल्याइएका कानुनहरूले प्रेसको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै गइरहेको बताएका छन्।
प्रेसको कार्यक्षेत्रमाथि क्रमश अवरोधहरू सृजना हुँदै गएमा भविष्य कालो हुने हुनाले ‘अस्ट्रेलियाज राइट टु नो’ नामक एक गठबन्धनले यो कार्यक्रम अस्ट्रेलियामा पहिलो पटक आयोजना गरेको हो।
यसरी नै कानुन बन्दै गए, सरकार र उच्च पदस्थ व्यक्तिहरूले सर्वसाधारणहरूबाट सत्यतथ्य कुरा लुकाउन सक्ने हुनाले पहिलोपटक यो सांकेतिक विरोध गरिएको गठबन्धनले जनाएको छ।
गत जुन महिनामा अस्ट्रेलियाली सङ्घीय प्रहरीद्वारा सार्वजनिक सञ्चार संस्था एबिसी र न्युज कर्पकी पत्रकार एन्निका स्मेथहर्स्टको घरमाथि छापा मारेपछि प्रेस स्वतन्त्रताको हननका विषयले सर्वत्र चर्चा पाएको थियो।
सङ्घीय प्रहरीको उक्त कारबाहीको केन्द्रमा परेका पत्रकारहरूलाई के अभियोग लगाइने छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
यता प्रधानमन्त्री स्कट मरिसनले भने सङ्घीय प्रहरीले सञ्चार माध्यम र पत्रकारको घरमा छापा मारेलगत्तै आफ्नो सरकार प्रेस स्वतन्त्रतामाथि कटिबद्ध रहेको जनाएका थिए।