विश्वकप छनोट फुटबलमा बिहीबार नेपालले आफूभन्दा निकै शक्तिशाली प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
उक्त छनोट खेल अस्ट्रेलियाको राजधानी सहर क्यानबेरास्थित जियो रंगशालामा खेलिने छ।
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली टोलीले खेल्न लागेको यो तेस्रो छनोट खेल हो।
यसअघि खेलिएका दुइटा छनोट खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको छ।
कुवेतसँग उसैको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि नेपाली टोलीले आफ्नो दोस्रो छनोट खेलमा चाइनिज ताइपेइलाई उसैको मैदानमा २-० गोलले हराएको थियो।
नेपालका लागि अस्ट्रेलिया निकै बलियो प्रतिद्वन्द्वी हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक योहान कालिनले अस्ट्रेलियाविरूद्घको खेलका लागि आफूहरू तयार रहेको बताए।
‘अस्ट्रेलिया बलियो टोली हो भन्ने कुरा मैले राम्ररी बुझेको छु। हामीले पनि सोही अनुरूपको तयारी गरेका छौं’, प्रशिक्षक कालिनले भने, ‘अस्ट्रेलियाविरूद्घको खेलका लागि मेरा खेलाडी तयार छन्।’
एक प्रश्नको जवाफमा प्रशिक्षक कालिनले नेपाली दर्शकको उल्लेख्य उपस्थितिले पनि खेलाडीको मनोबल उच्च बनाउने विश्वास समेत ब्यक्त गरे।
यसैगरी अस्ट्रेलियन टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोलीलाई ठूलो अन्तरले हराउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताए। उनले नेपाली टोलीविरूद्घ बढीभन्दा बढी गोल गर्ने योजनासहित आफ्नो टोली मैदानमा ओर्लने दाबी गरे।
प्रशिक्षक आर्नोल्डले नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेलेको खेललाई पनि आफूले नजिकबाट नियालेको बताउँदै आफ्नो टोली आक्रामक रणनीतिसहित मैदानमा ओर्लने बताए।
उनले विपक्षीको रणनीतिप्रति खासै चासो नदिएको दाबी गर्दै आफ्ना खेलाडीहरू नेपालविरूद्घ सकेसम्म बढी गोल गर्न तयार रहेको प्रतिक्रिया दिए।
नेपाल र अस्ट्रेलियाबीचको खेल स्थानीय समय अनुसार राति ८ बजे र नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरू हुनेछ। स्थानीय आयोजकले पनि प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।