विश्वकप छनोट चरण फुटबल प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाविरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलियाको सिड्नी आइपुगेको छ।
आगामी अक्टोबर १० तारिख क्यानबेराको काल्टेक्स रंगशालामा किरण चेमजोङको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय टोलीले बलियो अस्ट्रेलियाविरुद्ध महत्वपूर्ण प्रतिस्पर्धा गर्नेछ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन नेप्लीज फुटबल संघको संयुक्त आयोजना तथा नेपाली समाजको सहयोगमा राष्ट्रिय टोलीलाई यहाँंको हावापानीसँंग घुलमिल गर्नुका साथै हौसला प्रदान गर्न एक साता अघि सिड्नी बोलाइएको हो।
सिड्नी आइपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्का, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, एनआरएनका युवा संयोजक इर्शाद अहमद, अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिजेन बटाजु , एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, पूर्व उपाध्यक्ष नन्द गुरुङ, एनआरएन खेलुकद विभागका संयोजक राजु मानन्धर लगायतले बिमानस्थलमा स्वागत गरेका थिए।