विश्वकप छनोट चरण फुटबल अन्तर्गत आगामी अक्टोबर १० तारिखमा राजधानी क्यानबेरामा अस्ट्रेलियाविरूद्ध हुने प्रतिस्पर्धामा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीलाई एनआरएन अस्ट्रेलिया र अस्ट्रेलियन नेप्लिज फुटबल संघ(एन्फा)ले सघाउने भएका छन्।
सिड्नीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै एन्फा अस्ट्रेलियाले विश्वकप छनोट चरण फुटबल खेल्ने नेपाली टोलीलाई सघाउन केही दिनअघि सिड्नीमा राख्ने र यहाँको वातावरणमा घुलमिल गराउनुका साथै मनोबल उच्च पार्ने कार्यको तयारी पूरा भएको जनाएको छ।
एन्फा अस्ट्रेलियाका अध्यक्ष बिजेन बटाजुले भने, ‘अस्ट्रेलियामा बसेर राष्ट्रको पैरवी गर्ने हामी सबै नेपाली मिलेर राष्ट्रय फुटबल टोलीको मनोबल उच्च पार्ने काममा जुट्ने बेला आएको छ।’
बटाजुका अनुसार नेपाली राष्ट्रिय टोलीलाई अक्टोबर ३ तारिख अस्ट्रेलिया बोलाइने र टोलीका सबै सदस्यहरूलाई करिब पाँच दिन सिड्नीमा राखेर अभ्यास र हावापानीसँग वातानुकुलित गराउने काम गरिने र ८ तारिख आयोजना स्थल क्यानबेरा पठाइने कार्यक्रम रहेको छ।
‘एउटा मुलुकको प्रतिष्ठासंग जोडिएको महत्वपूर्ण विषय भएकोले यहाँ रहेको सबै संघ/संस्था र नेपाली समाजलाई हामी हृदयदेखिनै स्वागत र सहयोग गर्न आह्वान गर्दछौं’, बटाजुले भने।