हालसालै सामाजिक सञ्जालमा एक जना महिला सांसदको भाषणलाई लिएर ‘ट्रोल’ बनेको छ। केही मानिसहरूलाई ‘रूनु कि हाँस्नु’ भएको छ। केहीलाई ‘उदेक लागेर आएको’ छ। केहीलाई लाज लागेको छ ती महिला सांसदको भाषण सुनेर।
सवाल हो महिला सांसदको भाषण।
ती महिला सासंदले डायरीको पानामा लेखेको कुरालाई संसदमा राम्रोसँग पढ्न सक्दिनन्। उनले ‘नेपाल कृषि प्रधान देश’ भन्नु पर्नेमा ‘नेपाल कृषि विकास प्रधान’ भन्छिन् र यस्तै अन्य कुराहरूलाई राम्ररी पढ्न सक्दिनन्।
त्यही सवाललाई लिएर सामाजिक सञ्जालमा खिसीटिउरी गर्नेको बाढी नै आएको छ। कसैले ‘खेतबारीमा काम गर्न जाउ’ भने। । कसैले त ‘योग्यतम मासेर समावेशी समानुपातिक गरेका! विधायक, नीति निर्माता, कठै’ भन्न समेत भ्याए।
धेरैजसोले नकारात्मक ध्येयबाट यसरी यो भिडिओलाई ‘भाइरल’ बनाउने प्रयत्न गरेको छन् कि सायद अब ती महिला सांसद जिन्दगीभर संसदमा फेरि माइक समाएर बोल्ने आँट गर्ने छैनन्।
हाम्रो नेपालमा केही गर्छु भनि प्रयास गर्नेलाई हतोत्साहित बनाउने चलन ज्यादै बढेको छ जसको एक दृष्टान्त हो महिला सासंदको भाषण अनि व्यक्त नकारात्मक प्रतिक्रिया।
तर उनको त्यो भिडिओलाई भद्दा मजाक बनाउनेहरूले यो कुरा बुझेनन् वा बुझ्ने प्रयास गरेनन् कि उनले के सवाल उठाइन्।
उनले उठाएका सवाल भनेको ‘किसानलाई मलजल आवश्यक छ छिटो उपलब्ध गराउ सरकार’ हो। जुन हाम्रो देशका अधिकांश किसानले भोगेको समस्या हो र सायद यसको दीर्घकालीन समाधान गर्न हामी अहिले पनि सफल छैनौं।
संसदमा यो सवाल ज्यादै न्यून रूपमा उठाइन्छ र त्यतिकै ओझेलमा पनि पर्छ। के यो सवाल उठाउँदा हाम्रो समृद्धि खतरामा पर्यो? संसदमा बोल्न या टेलिभिजनमा मात्र देखिन उनले त्यो सवाल संसदमा उठाइनन् होला।
सायद हामीलाई राजनीतिका आदर्शवादी गफ, जो कहिल्यै पूरा भएनन् , त्यस्ता झूटा आश्वासन सुन्ने बानी परेर होला एउटा यर्थार्थ सवाल सुन्ने बानी हटिसक्यो।
हो उनले चट्ट मिलाएर बोल्न जानिनन् होला तर ‘लामखुट्टेश्वर महादेव’ स्थापना गर्ने जस्ता सवाल भन्दा ती महिला सासंदले उठाएका सवाल यथार्थ छन्। तर यहाँ सवाल गर्ने तरिकालाई प्राथमिकतामा राखेर सरकारलाई प्रश्न गर्ने आँटलाई गौण बनाइएको छ।
अर्कोतर्फ ती महिला सासंदलाई यसरी मजाकको पात्र बनाइएको छ कि सायद उनले सामाजिक सञ्जालको प्रतिक्रिया पढिन् भने आत्मविश्वासको डिग्री स्वात्तै घट्नेछ। उनले यस्ता प्रतिक्रिया नसुनुन् भन्ने चाहना हो किनकी हाम्रो संस्कार यस्तो भइसक्यो कि कसलै खर्रर पढ्न नसक्नु वा बोल्न नसक्नु भनेको उसमा बौद्धिक क्षमता शून्य सरह हुनु हो। फरर अंग्रेजी बोल्ने या राम्रो सँग पढ्ने नै विद्वान हो भन्ने हाम्रो मानसिकता छ ।
ती महिला सांसदको पृष्ठभूमि के हो मलाई थाहा छैन र कसरी राजनीतिमा प्रवेश गरिन् त्यो पनि जानकारी छैन। तर म यति भन्न सक्छु कि उनले औपचारिक शिक्षा राम्रोसँग प्राप्त गर्न पाएकी छैनन्। ती सासंद हरेक नेपाली महिलाको प्रतिनिधित्व हुन् किनकी हाम्रो समाजमा उनको उमेरका अधिकांश महिलाहरू अशिक्षित छन्। उनीहरू राम्रोसँग अक्षर चिन्न सक्दैनन्। राष्ट्रिय जनगणना २०६५ अनुसार नेपालमा ४३ प्रतिशत महिलाहरु साक्षर छैनन्। गरिबीको पीँधमा महिलाहरू नै बढी छन्।
ग्रामीण परिवेशको एक महिला जो खर्रर पढ्न सक्दिनन् तर आफ्नो छोराछोरीको जन्म मिति र समय कण्ठ गर्ने आमाको प्रतिनिधित्व हुन् ती सासंद। आफ्ना छोराछोरीको पढाइका लागि साहुबाट ऋण ल्याएको समय कहिल्यै नभुल्ने निर्दोष महिलाको प्रतिनिधित्व हुन् उनी।
भलै उनको पढाइ ‘विद्वान’को जस्तो सलल बगेन होला तर हामीलाई कसैले राम्रोसँग पढ्न सकेन भनेर उसको बेइज्जत गर्ने अधिकार छैन। बरु सकिन्छ भने आत्मविश्वास बढाउने काम गर्ने हो। होला उनी एक सासंद हुन् र उनलाई गल्ती गर्ने छुट छैन तर नेपाली खर्रर पढ्न नसकेका कारण उनले सवाल उठाउन नपाउने हो त?
केही प्रश्नहरू जस्तै के हामीले देश निर्माणका लागि यस्तै व्यक्तिलाई संसद पठाएको हो भन्ने छन्। सायद हामीले भुल्नु भएन कि संसद भनेको चिल्ला भाषण गर्ने र सपना मात्र बाँड्नेहरूको मात्र जमघट होइन। ती महिला सासंद जो अनेक चुनौतीका बाबजुद पनि आफ्ना प्रश्न, सवाल गर्ने आँट गर्छिन् र नेपालको यथार्थ प्रतिनिधित्व गर्छिन् तिनीहरूको पनि संगमस्थल हो।
र रह्यो लाजको कुरा। हो वास्तवमा लाज चाहिँ हामीलाई लाग्नु पर्ने हो जसले शिक्षा आर्जन जस्तो पवित्र प्रणालीमा वर्ग, लिंग, जात र क्षेत्रलाई प्रमुख बनाइदियौँ जुन अहिले पनि यथावत् नै छ, जसले गर्दा ती महिला सासंद जस्ता लाखौं महिला शिक्षा आर्जन गर्नबाट बञ्चित भए कलम र कापी किन्ने पैसा नभएर, समयमा नै पाठ्यपुस्तक नपाएर, वर्षातको खहरेखोला तर्न नसकेर र अन्य कारणबाट पढाइ पूरा गर्न नसकेकाहरू तर आफ्नो आवाजलाई जेनतेन उठाउन खोज्नेहरूलाई लाज लाग्ने कि हामी सामाजिक सञ्जालमा अरुको आत्मविश्वास गिर्ने गरी निन्दा गर्नेलाई लाज लाग्ने? गल्ती हाम्रो प्रक्रियामा छ व्यक्तिमा होइन जसले एक व्यक्तिलाई शिक्षा आर्जन गर्न फलामको चिउरा चपाउनु सरह बनाइदिन्छ।
सामाजिकदेखि आर्थिक, भौगोलिक तथा शारीरिक कारणले बाधा अड्चन पुर्याउँछन् शिक्षा प्राप्तिमा। तिनै व्यक्तिले एक/एक शब्द जोडेर प्रश्न सोध्ने आँट गर्छन् भने त्यो लाजको विषय कदापि होइन बरु प्रेरणादायी चाहिँ अवश्य हो।
अन्त्यमा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले उनी जस्ता लाखौं महिलाको आत्मविश्वासमा कमी नहोस्। बरु आफ्नो बोली बन्द नहुँदासम्म शब्द शब्द जोडेर भए पनि आगामी दिनमा अझै जुझारु रूपमा नीतिनिर्मातालाई प्रश्न गर्ने आँट बढोस्, शुभकामना।
(लेखक हाल अस्ट्रेलियन नेसनल युनिभर्सिटी, क्यानबेरामा अध्ययनरत छन्।)