अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले गत फेब्रुअरी महिनामा दर्ता खारेजी गर्ने निर्णय गरेको इन्टरनेशनल इन्सिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी (एआइबिटी) कलेज करिब छ महिनापछि सन्चालनमा आउने भएको छ।
गत फेब्रुअरी महिनाको १९ तारिख आस्क्वाले एआइबिटी खारेज गर्ने निर्णय गरेको थियो। माथिल्लो निकाय एडमिनिस्ट्रेसन अपिल ट्रिब्युनल (एएटी)ले एआइबिटीलाई केही आन्तरिक शर्तहरु सहित पुन सन्चालनको अनुमति दिएपछि धेरै नेपाली विद्यार्थीले राहतको सास फेरेका छन्।
करिब एक हजार पाँंच सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत यस कलेजलाई आस्क्वाले अचानक रद्द गरेपछि नेपाल र अस्ट्रेलियामा समेत निकै आलोचना भएको थियो। हजारौं विद्यार्थी अलपत्र परेको भन्दै विद्यार्थीसहित तिनका अभिभावक समेत विरोधमा उत्रिएपछि सरकारले डिप्लोमा तहलाई नो अब्जेक्सन लेटर समेत रोक्ने निर्णय गरेको थियो। तर केही दिनपछि नै सो निर्णय फितलो साबित भएको थियो।
अस्ट्रेलियाको शैक्षिक निकाय र नीतिको विषयमा बहस भैरहँंदा पछिल्ला छ महिनामा करिब एक सय बढी कलेजहरुलाई सरकारले रद्द गर्ने निर्णय गरिसकेको छ। तर रद्द गरिएका कलेजहरुले आफूलाई अन्याय भयो भन्दै माथिल्लो निकाय एएटीमा गएपछि कतिपयले राहत पाएको पनि देखिन्छ।
एआइबिटीको रद्दपछि उत्पन्न शैक्षिक बहसले अस्ट्रेलियाको शिक्षा नीतिमा समेत केही परिवर्तन आएको थियो। एन्म्याकको अनुमति नपाइकन आस्क्वाको दर्ताका आधारमै नर्सिङ पढाउन पाइने गलत प्रथाको अन्त्य समेत भएको थियो।
एआइबिटीको रद्दपछि नेपाल सरकारको शिक्षा मन्त्रालयले यस कलेजलाई नो अब्जेक्सन लेटर दिन बन्द गरेको थियो। पछिल्लो संचालन अनुमतिले भने त्यसमा फेरबदल आउन सक्ने छ।
करिब छ महिना कलेज रद्द भएपछि अन्यौल र पीडामा रहेका विद्यार्थीका समस्यामा सम्वन्धित निकाय अझै मौन देखिन्छन्। शैक्षिक अनुगमन गर्ने निकायले आवश्यक पुर्वाधार र लेखाप्रणालीको निगरानीका आधारमा कलेज खारेज गरेको देखिन्छ भने माथिल्लो निकायले यावत कारणले कलेज खारेजी गर्नु नपर्ने देखिएको निर्णय सुनाउँछ, यस्तो अवस्थाले प्रत्यक्ष प्रभाव भने विद्यार्थी र अभिभावकमा परेको छ।