अस्ट्रेलियाका लागि नेपाली राजदूतावासको आयोजनामा संविधान दिवस अर्थात् नेपाल डे राजधानी क्यानबेरामा धुमधामका साथ मनाइएको छ।
नेपाली राजदूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले नेपाल र अस्ट्रेलियाबीचको दौत्य सम्बन्ध साठी वर्ष पूरा भएको चर्चा गर्दै अस्ट्रेलियामा रहेका कूटनीतिज्ञ तथा नेपाली समुदायबीच नेपाल दिवस मनाउन पाउनु गौरवको विषय भएको बताइन्।
नेपालको राष्ट्रिय गान र अस्ट्रेलियाको राष्ट्रिय गानसँगै प्रारम्भ भएको कार्यक्रममा कार्यवाहक राजदूत द्रुपदा सापकोटा र चिफ अफ प्रोटोकल केट लोगानले वाइन टोस्ट गर्दै शुभारम्भ गरेका थिए।
लामो दौत्य सम्बन्धका बाबजुद कूटनितिक सम्बन्धलाई प्रगाढ बनाउने विषयमा दुवै देश अग्रसर रहेको र पछिल्ला समयमा कतिपय सकारात्मक परिणाम अनि सन्देश आइरहेको सापकोटाले बताइन्।
कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली महावाणिज्यदूतहरू चन्द्र योन्जन(भिक्टोरिया), दीपक धमला(साउथ अस्ट्रेलिया) लगायतको सहभागिता रहेको थियो।
अस्ट्रेलियाली परराष्ट्र मन्त्रालयको चिफ अफ प्रोटोकल केट लोगानको विशेष उपस्थिति रहेको कार्यक्रममा लेबरका संघीय सांसद पिटर खलिल लगायत पनि सहभागी थिए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल, उपाध्यक्ष चुडामणि सापकोटा, देव गुरुङ ,महासचिव डा ज्ञानेन्द्र रेग्मी, नारी निकुन्जकी संयोजक संन्ध्या शाहलगायतका अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस्तै कार्यक्रममा नेपाली समुदायका अग्रजहरू गोवा कटवाल, एनआरएनका ओसेनिया संयोजक धर्मराज अधिकारी, कानुन व्यवसायी भरत पोखरेल, पत्रकार डिल्ली ढकाल, विद्यार्थी नेता विजय सापकोटा ,एनआरएनका पूर्वउपाध्यक्ष नन्द गुरुङ ,एकाका अध्यक्ष परशुराम अधिकारी , पूर्वप्रवक्ता डिला खरेल ,मल्टी डाइनामिकका निर्देशक मेघराज पौडेल,विष्णुप्रभात सापकोटा, विजय पौडल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली कला संस्कृति झल्काउने नृत्य पनि प्रस्तुत गरिएको थियो।