वर्षाका देवता इन्द्रको पूजाआरधना गरी मनाइने इन्द्रजात्रा पर्व परम्परागत रूपमा गुठी साउथ अस्ट्रेलयाले एडिलेड सहरमा तेस्रो पटक भव्यताका साथ मनाएको छ।
सेप्टेम्बर १५ तारिखको दिन स्थानीय एडवार्सटाउन म्यासोनिक हलमा सम्पन्न इन्द्रजात्राका विशेष आकर्षण कुमारी जात्रा, धिमेबाजा, सम्यबजी र विविध नेवारी नृत्य समावेश रहेको थियो।
गुठी साउथ अस्ट्रेलियाले नेवाः संस्कृति संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
लाखे, धिमे बाजा र पुलुकिसिबीचको प्रस्तुति सधैंझै जात्राको सबभन्दा उत्कृष्ट माहौल थियो। जात्रामा यहाँका दोस्रो पुस्ताका युवाहरूको पनि विशेष सहभागिता रहेको थियो।
ग्रेस इन्टरनेसनलको मुख्य प्रायोजन रहेको जात्रामा नेपाली समुदाय यहाँका अस्ट्रेलियन समुदायले पनि चासोका साथ जात्रा अवलोकन गरेका थिए।
नेवाः संस्कृति रितिरिवाजलाई साउथ अस्ट्रेलियावासीबीच चिनाउने एउटा प्रयास स्वरूप इन्द्रजात्रा आयोजना गरिएको संस्थाका सह सचिव सजिन प्रधानाङ्गले बताए।
नेपालभित्रका रितिरिवाज अनि कला संस्कृतिको संवर्द्धन गर्दै विदेशी भूमिमा गरिने हरेक कार्यक्रमले मुलुकको पहिचान बढाउने कार्यमा मद्दत पुग्ने गुठी साउथ अस्ट्रेलियाले जनाएको छ।