वर्षाका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्व परम्परागत रूपले साउथ अस्ट्रेलियामा मनाइँदैछ।
नेवा: संस्कृति संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ सन् २०१५ मा स्थापना भएको गुठी साउथ अस्ट्रेलियाले यही सेप्टेम्बर १५ तारिखको दिन स्थानीय एडवार्सटाउन म्यासोनिक हलमा तेस्रो पल्ट इन्द्र जात्रा कार्यक्रम आयोजना गर्न लागेको हो।
नि: शुल्क प्रवेश रहेको यस कार्यक्रममा कुमारी जात्रा, लाखे , पुल्किसी ,धिमे बाजा , समयबजी , नेवारी नृत्यहरूसहित विभिन्न कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्देश्यको बारेमा बताउँदै गुठीका अध्यक्ष मंगलमान बज्राचार्यले भने,‘नेपालमा अनोमल प्राचिन सम्पत्तिको रूपमा साँस्कृतिक सम्पदाहरू छन् त्यसलाई अब विश्वलाई हामीले चिनाउँदै लैजानु पर्छ। नेपाल आफैंमा बहुसाँस्कृतिक देश हो, विश्वका अहिले धेरै विकसित राष्ट्रहरू अस्तित्वमा नै नभएको बेला काठमाडौंमा समाजसँगै साँस्कृतिक सभ्यतामा पनि अगाडि थियो तर आज हामी ती हाम्रा सम्पत्तिहरूको प्रचार प्रसार गर्न सकेका छैनौं। हाम्रो संस्कृति रितिरिवाजलाई साउथ अस्ट्रेलियावासीहरूबिच चिनाउने एउटा प्रयास हुनेछ इन्द्रजात्रा कार्यक्रम।’
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नविन पन्तले यस प्रकारका कार्यक्रमहरूले नेपालभित्रका रितिरिवाजहरूको संवर्द्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किंदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउने भनाइ राखेका थिए।
कार्यक्रमको मुख्य प्रयोजन ग्रेस इन्टरनेसनल एजुकेशन एण्ड माइग्रेसन एडिलेड प्रमुख प्रकाश थापाले इन्द्रजात्रा कार्यक्रमको लागि शुभकामना व्यक्त गर्दै सम्पूर्ण समुदायलाई उपस्थित हुनको लागि आग्रह गरेका थिए।
कार्यक्रममा आइसीसी सदस्य गोकुल घिमिरे, गुठी साउथ अस्ट्रेलिया सल्लाहकार कुश श्रेष्ठ र सामाजिक अगुवा दिपक विष्ट लगायतको उपस्थिति रहेको थियो।