विदेशमा पढेर सुन्दर सपनाको संसार सजाउने हेतुले विदेशिएका नेपाली युवाको संघर्ष र सफलताको कथालाई अस्ट्रेलियामा एक कार्यक्रमबीच फरक शैलीमा प्रस्तुत गरिएको छ।
फरक र अलग कार्यक्रमको सोच बनाएर अगाडि बढेको थ्राइभिङ सोच नामक संस्थाले शनिबार सिड्नीको वेस्ले कन्फ्रेरेन्स सेन्टरमा सकारात्मक सोचको विकास र सफलताका सिढी चढेका एक दर्जन युवाको परिस्कृत विचारलाई प्रस्तुत गरेको हो।
अस्ट्रेलियाको नेपाली समाजमा युवा पुस्तामा उदाएका व्यवसायी किरण थापा, विद्यार्थी नेतृत्वमा जमेका विजय सापकोटा, चलचित्रकर्मी सविन ज्ञवाली र कलाकार नट्टु शाहले आआफ्ना भोगाइ र सफलताका कथा ब्यथाहरू साटेका हुन्।
फरक शैलीको उत्प्रेरणा कार्यक्रममा नेपालबाट आएकी खालीसिसि डटकमकी प्रवन्ध निर्देशक आयुषा केसी, टुटलका संस्थापक शिक्षित भट्ट र मोटीभेसनल स्पिकर सौनक भट्टको विशेष प्रस्तुती रहेको थियो।
स्वदेशमा सजाइएका अनेकौं सपना परदेशमा पूरा हुन नसक्दा पीडामा रहेका युवा पुस्तालाई उत्प्रेरणा दिने सोचका साथ आयोजना गरिएको कार्यक्रममा ‘यदि म गर्न सक्छु भने तपाईं पनि सक्नुहुन्छ’ भन्ने नारालाई आत्मसात गरिएको थियो।
युवापुस्ताको राम्रै उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले सकारात्मक सोचको विकास, आत्मविश्वास, सशक्तिकरण र उत्प्रेरणाका विषयमा अनुभवहरू सुनाएका थिए।
भिन्नभिन्न विधाका यी सात जना वक्ताहरूले निराशाबीच पनि आशाको त्यान्द्रोले पनि जीवनको दिशा बदल्न सामर्थ्य राख्न सक्ने तर्क प्रस्तुत गरेका थिए ।
‘हामीले केही नयाँ विषयमा कार्यक्रम गरौं भन्ने सोचका साथ यसलाई अगाडि बढाएका हौं, मनोरन्जनमै सीमित कार्यक्रमहरू छाडेर यहाँ रहेका युवा पुस्तालाई पुनर्ताजगीसँगै मनोबल बढाउने कार्यमा यो कार्यक्रम केही हदसम्म सफल भएको हामीले मानेका छौं’,आयोजकमध्येका एक समीर भट्टले भने।
अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी, उद्यमी, व्यवसायी एवं केही फरक सोच अनि नविनतम सोच बोकेका युवाका लागि यो उपलब्धिमूलक रहेको भट्टले बताए ।