गैरआवासीय नेपाली संघ (एनआरएनए ) को आगामी अक्टोबर १५ तारिखदेखि काठमाडौंमा हुने महाधिवेशनमा अस्ट्रेलियाा युवा व्यवसायी स्वतन्त्र प्रताप शाह युवा संयोजक पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
युवा व्यवसायी शाहले अस्ट्रेलियामा कन्सल्टेन्सी र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्।
गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तहमा रही काम गर्दै आएका जुझारु व्यक्तित्व शाहले आफ्नो उम्मेद्वारी घोषणा गर्नुपूर्व केही प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले दोहोरो नागरिकताको लागि पहल र नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नु आफ्नो मूल एजेन्डा रहने बताए। ‘नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भनि यसअघि नै घोषणा गरिसकेको अवस्थामा हामीले नेपालमा रहेका प्राकृतिक र साँस्कृतिक सुन्दरताको परिचय स्थापित गर्दै विदेशमा विशेष अभियान चलाएर सरकारको कार्यक्रम सफल पार्न लागि पर्ने आफ्नो उद्देश्य रहेको छ,’उनले भने।
यसबाहेक शाहले नेपाली कला, संस्कृतिलाई विश्वमा रहेका दोस्रो पुस्तामाझ विभिन्न कार्यक्रममार्फत् पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
‘भाषा रहेन भने हाम्रो भेष पनि रहँदैन। त्यसैले प्रवासमा मुलुक चिनाउन पहिलो महत्वपूर्ण माध्यम भनेको भाषा नै हो। एनआरएनले प्रवासमा दोस्रो पुस्तामा नेपाली भाषाको परिचय स्थापित गर्ने काम गर्नुपर्दछ भन्ने मेरो लक्ष्य रहेको छ’, उनले भने।
शाहले नेपालबाट हरेक वर्ष हजारौं विद्यार्थी पुग्ने अस्ट्रेलियामा नेपाली खानाको प्रचारप्रसार गर्ने उद्धेश्यले नेपाली शैलीको र मुलुकको पहिचान बढाउने रेस्टुरेन्ट समेत खोलेका छन्।
शाह एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष पदमा रही काम गरिसकेका छन्।
गत वर्ष काठमाडौंमा सम्पन्न आठौं सम्मेलनमा पनि शाह थोरै मतले मात्र युवा संयोजकमा पदमा पराजित भएका थिए।
यस पटक उनको संभावना निकै बलियो रहेको छ ।