‘संस्कृति हाम्रो पहिचान,त्यसको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ अस्ट्रेलियाको ब्रिसबेनमा यस पटक पनि नृत्य प्रतियोगिता हुने भएको छ।
यही आउँदो सेप्टेम्बर २८, २९ तारिखमा एक्सपर्ट नेप्लिज डान्स प्रतियोगिता आयोजना हुने भएको हो।
नेप्लिज अस्ट्रेलियन इन क्विन्सल्यान्ड ( एनएक्यु) नामक पुरानो संस्थाले हरेक बर्षझैं यस पटक पनि नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो।
अस्ट्रेलियाका विभिन्न राज्यहरू र न्युजिल्यान्डबाट समेत सहभागिता रहने यस प्रतियोगिता यस भेगकै ठूलो नेपाली नृत्य प्रतियोगिता हुने जनाइएको छ।
मुख्य प्रायोजकका रूपमा एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज रहेको छ।
दुई दिनसम्म चल्ने प्रतियोगिता यस भेगकै नेपाली परम्परागत नृत्यको कुम्भ मेलाका रूपमा रहेको एनएक्युका अध्यक्ष अमृत पौडेल बताउँछन्। ‘कला,संस्कृति र भाषानै पहिचानको माध्यम हुन्, प्रवासमा रहेर यसलाई संरक्षण गर्न सकेमात्र दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्छन’, अध्यक्ष पौडेलले भने।
यस प्रतियोगिताका संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष केशव शर्माले प्रतियोगिताको एकल नृत्यमा १७ जना ,युगलमा ९ जना र समूहगत नृत्यमा १० समूहले सहभागिता जनाएको बताए।
कुल ६८ जनाको सहभागिता रहेको नृत्य प्रतियोगितामा अस्ट्रेलियाको तास्मानियाबाहेक सबै राज्यको सहभागिता रहेको बताइएको छ। संयोजक शर्माका अनुसार दुई दिने प्रतियोगिताको पहिलो दिन प्रारम्भिक चरण र दोस्रो दिन फाइनल चरणका नृत्य प्रतिस्पर्धा हुनेछन्।
यस भेगकै कला संस्कृतिको जर्गेना गर्ने महत्वपूर्ण मेलाका रूपमा रहेको नेपाली नृत्य प्रतियोगितामा जोडिन पाउनु खुसीको कुरा रहेको एक्सपर्ट ब्रिजबेन शाखाका निर्देशक सागर अर्यालले बताए।