विगत केही वर्षयता हामी गैरआवासीय नेपालीहरूको लागि चाडपर्व र निर्वाचनको रौनक सँगसँगै आउने गरेको छ।
आफन्तहरू सँगैखुसीयालीका साथ वडा दसैं मनाउन मातृभूमि ओर्लिंदै गर्दा गैरआवासीय नेपालीहरू आफ्नोसंघको नेतृत्व चयनको टक अफ वारमा समेत जुट्ने गरेका छन्।
यतिबेला संसारका विभिन्नदेशमा रहेका गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिका निर्वाचनहरू धमाधमसम्पन्न भइरहेका छन्।
कतै सहमतिमा नेतृत्व चयनभएका छन् भने धेरै ठाउँमा चुनावद्वारा नेतृत्व चयन गरिएको छ। यही सन्दर्भमा विवादका स्वरहरू पनि सुनिएकै छन्।
गैरआवासीय नेपालीहरूको साझा संगठन एनआरएनकोनेतृत्व चयनका दौरान पक्ष र विपक्षामा नेपालीहरूबाँडिने परम्परा भने अब नौलो रहेन। साझा उद्देश्य तर फरकसोच अनि कार्यशैली भएका मानिसहरू आ-आफ्नो विचार मिल्ने ब्यक्तिहरूको समूह बनाएरचुनाव लडेको भनिए पनि अन्तत त्यहाँ राजनीतिक आस्था नै प्रतिबिम्बित हुँदै आएको छ।
राजनीति हाम्रोजनजीवनबाट टाढा जान सक्दैन। त्यसमाथि पनि हामीनेपालीहरू यो राजनीतिको ओखलमा कुटिएका पिठो जस्ता भएका छौं। ओखल जति सफा गर्छु भनेपनि पिठो टाँसिएकै हुन्छ।
उसो त राजनीति बेवास्ता गर्न सक्ने विषय नै होइन तथापी यत्रतत्र,सर्वत्र राजनीतिमात्र हावी भैदिँदा कतिपय गर्नै पर्ने कामहरू ओझेलमा पर्न सक्ने रहेछन्।
नेपालमा राष्ट्रिय जीवनका अंगप्रत्याङ्गमा राजनीति नामको ‘संक्रमण’ लागेको र त्यसले देशको उन्नति र समृद्धिमा नकारात्मक प्रभाव पारेको गुनासो आइरहेको सन्दर्भमा विदेशमा रहेका गैह्रआवासीय नेपालीहरूमा पनि त्यस्तै संक्रमण देखिनु निश्चय नै सुखद विषय होइन।
तथापी सत्य के हो भने विदेशमा बस्ने नेपालीहरूको साझा संस्था भनेर भनिँदै आएको गैरआवासीय नेपाली संघ(एनआरएनए)पनि नेपाली राजनीतिको यो वा त्यो रूपमा पक्षको दौराको फेर समाउँदै घरेलु राजनीतिमा नै रुल्मलिनु लाजमर्दो विषय हो।
कतिपय मानिस यसलाई स्वभाविक मान्छन् तर अरू कयौं मानिसहरू यस्ता संस्थाहरूमा राजनीति भित्र्याइ दिँदा विवाद एवम् अस्वस्थता बढ्दै जाने खतरा देख्छन्।
उनीहरूको तर्क छ,एनआरएनएको अक्षुणतालाई जोगाउने सन्दर्भमा यसलाई राजनीतिबाटमुक्त राखिनु पर्दछ। लाजमर्दो विषय त यो छ कि पार्टीगत राजनीतिभित्र पनि फेरिगुटगत राजनीति समेत ईन्जेक्ट गरिएको छ।
राष्ट्रिय समन्वय समिति निर्वाचनका दौरान देखिएका कतिपय अस्वस्थ्य प्रतिस्पर्धाले संस्थाको आधार स्तम्भलाई नै नराम्रोसँग हल्लाएझैं लाग्छ।
उचाल्ने पछार्ने र खुराफाती गर्ने प्रवृतिले प्रश्रय पाउँदै जाँदा संस्थाको मर्म बुझेका एवं योगदान र इतिहास समेत भएका ब्यक्तिहरू उपर फ्रष्ट्रेसन आउनु स्वभाविक नै हो।
जसले प्रकान्तरणमा स्वयं संस्थाको शाख गिराउने कुरामा दुई मत हुन सक्दैन।
‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्दै नेपाली भैरहन चाहनेलाई नेपाली नै हुने वातावरण तयार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को परिकल्पना गरिएको थियो।
अवसरको खोजीमा देश बाहिर रहन परेका सबै नेपालीलाई माटो र जन्मभूमिप्रतिको ऐक्यबद्धतामा नेपालको समृद्धिका लागि एकाकार गराउने उद्देश्य पनि सँगै जोडिएको थियो। स्थापनाको १६/१७ वर्षमा एनआरएनले नेपाल र नेपालीले महशुस गर्ने खालका स्तुत्य काम नगरेको पनि होइन। सायद त्यसैको प्रतिफल हुनु पर्दछ,नेपाल राष्ट्रको प्रस्तावित संविधानमा गैरआवासीय नेपालीको मागलाई सम्मान गर्दै , ‘गैरआवासीय नेपाली नागरिकता’ दिने कुरामा नेपाल सरकार र राजनीतिक दल सहमत भएका छन्।
यो एनआरएन अभियानको एउटा ठूलो उपलब्धि पनि हो। तर पनि शुरूआतका दिनमा जसरी सामूहिक लगानीको हौवा पिटिएको थियो त्यो अनुरूप काम नभएको भन्ने गुनासा नेतृत्वले चिर्न सकेको छैन। नेपालमा जति लगानी भएका छन् ती सबै व्यक्तिगत फाइदा र पहुँच विस्तारका खातिर भएका छन्।
स्वयं एनआरएन संस्थाको अपनत्वमा सदस्यहरूले गौरव गर्न लायक कामहरूको सूची त्यति लामो बन्न सकेको छैन। स्मरणीय छ कि चराहरू पनि चारो खोजिसकेपछि आ–आफ्नै गुँडमा फर्कन्छन्। यो बुझाइलाई देशभित्र रहेका आम नेपालीमाझ सम्प्रेषित गराउनुमा एनआरएन अभियानको प्रयत्न गर्दैआएको थियो।
विदेशमा रहेका नेपालीको श्रम, सीप, प्रविधि, पुँजी र सभ्यताको विप्रेषण गर्ने संस्थागत जमर्को पनि यसले गर्दै आएको हो। मुख्यतःनेपालीलाई नेपाली हुन देऊ अर्थात् नेपाली माटोको माया गर्न अझै उत्प्रेरणा जगाऊ भन्ने अभियानमा गैरआवासीय नेपाली संघको विशिष्टता पाइएको पनि हो।
भावपक्ष मर्यादित हुँदाहुँदै र संस्थापक अभियन्ताहरू खट्दाखट्दै पनि यदाकदा गैरआवासीय नेपाली संघ एनआरएनएका सवालमा केही आलोचनात्मक प्रश्नहरू पनि नभएका होइनन्।
खासगरी एनआरएनएको नेतृत्वमा जसरी पनि पुग्नै पर्ने चाहनाहरू प्रवृत्तिका रूपमा देखा पर्न थालेका छन्।
हुनत; यसलाई गैरआवासीय नेपाली संघप्रतिको बढ्दो आकर्षण र यसप्रतिको विश्वासका रूपमा सकारात्मक ढङ्गले पनि लिन सकिन्छ। तर,यस्तो रुची प्रकट गर्ने धेरै आकांक्षीहरूले यसको जन्मभाव र मर्यादा ख्याल गर्न सकेको देखिँदैन।
गैरआवासीय नेपाली संघका कतिपय राष्ट्रिय समन्वय समितिहरूमा देखापर्ने गरेको राजनीतिक गठजोड,अस्वभाविक र अनावश्यक गठबन्धन,दल– समूह–जात र गुट–उपगुटका अशोभनीय कोठे निर्णयहरूले संस्थाको मूल मर्ममाथि प्रहार गर्ने गरेको विश्वास गर्नेहरू पनि धेरै छन्।
यस्तो प्रवृति बढ्दै जाँदा कतै संस्थाको अस्तित्व त लुटिँदैन?भन्ने उनीहरूको सरोकार छ। धनी मान्छे मात्रैसंस्थाको नेता हुनसक्ने,तडकभडक र खर्च गर्न सक्ने मान्छेको बोलवाला हुने,सक्नेभन्दा बढी हौवा पिटाएर क्षणिक रूपमा नाम प्रचारको भोक देखाउने,नेतृत्वको लागि मरिहत्ते गर्ने प्रवृत्तिको बढोत्तरी,पवित्र नियत बोकेको संस्थाको नेतृत्व लिएर संस्थाकै बदनामी गर्ने र एनआरएनएको नाउँ भजाएर विशुद्ध व्यापार मात्र गर्न चाहने व्यवसायिक समूहको बढ्दो सक्रियता जस्ता कुराहरू प्रश्नबाट विकसित भएर चुनौती बन्न थालेका छन्।
अहिले पनि यो वा त्यो रूपमा धनी मान्छेहरू मात्र एनआरएनएको नेतृत्वमा पुग्न सक्ने हुन कि भन्ने शंकामा कमी भएको छैन। त्यसो त राजनीति पार्टी र तिनको प्रभाव पनि पैसा कै वरिपरि घुम्ने गरेको पाइन्छ।
यसको मूल कारण संगठन संस्थागत हुन नसक्नु र मानसिकतामा रूपान्तरण नहुनु नै हो। पैसो र पहुँच नभएका मान्छे गन्तीमै आउन नसक्ने स्थितिबाट यो संस्थाले पार पाउनै पर्दछ अर्थात् त्याग, रुचि र क्षमताका आधारमा पनि नेतृत्व प्रणाली विकास हुनसक्ने गरी सिंगो संगठन संस्थागत हुन जरूरी छ।
यहाँसम्म आइपुग्दाको जस,धन र मन दुवै देखाएका यसका संस्थापकहरूलाई दिन कन्जुस्याइँ गर्नु हुँदैन। तर,संगठनभित्रको बढ्दो अराजकताले उहाँहरूकै अस्तित्व गुम्ने खतरा छ। यस्तो परिस्थितिमा पुन:एकपटक एनआरएनएको भावी नेतृत्वका बारेमा अड्कलबाजी सुरू हुन थालेका छन्।
अध्यक्ष पदमा हालसम्म वर्तमान कार्यसमितिका उपाध्यक्षद्वयकुमार पन्त र कुल आचार्यले मुख खोलेका छन्। विगत २ वर्षे कार्यकालपछि पुन: दोहोर्याउने मनस्थितिमा रहेका भवनभट्टले यतिबेला खुट्टा झिकेको बताइएको छ। विगतलाई फर्किएर हेर्दा यसपटक पनि सर्बसम्मत नेतृत्व चयन हुनसक्ने देखिँदैन।
शक्ति केन्द्रहरूले स्वभाविक रूपमा कित्ताकाट गर्ने नै छन्। बल्लतल्ल संस्था नेपालमा दर्ता भएपश्चात निर्माण गरिएको एनआरएन भवन पनि विवादमुक्त हुन सकेको छैन।
बालुवाटार जग्गा प्रकरणले लाखौं गैरआवासीय नेपालीहरूको पसिना मिसिएको एनआरएन भवनको जग हल्लाइदिएको छ। स्वयं संस्थाको कार्य सीमामा प्रष्टता एवं एकरूपता आउन सकेको छैन।
विदेशमा रहेका कामदार एवं विद्यार्थीहरूका समस्या उपर उठाइने गरेका सवालहरू उपर एउटै आवाज बन्न सकेको छैन। भोटको लागि अनावश्यक आश्वासन मात्रै थप्दै जाँदा अन्तत:अन्योल मात्रै थपिने कुरामा दुई मत छैन। त्यसो त पछिल्लो पुस्ताका एनआरएनहरूलाई नेपालसँग जोड्ने सम्बन्धमा पनि उतिसारो उपलब्धि भए झैं लाग्दैन।
यस्तो पृष्ठभूमिमा सम्पन्न हुन गैरहेको एनआरएनको ग्लोबल सम्मेलनले विगतका शिक्षाबाट पाठ सिक्दै भविष्यको राजमार्ग तय गर्नको विकल्प छैन।
इतिहासको यो संगीन घडीमा एनआरएनका अगुवाहरूले आफूलाई फरक सावित गर्नै पर्दछ।
व्यक्तिगत व्यापार र व्यवसायको लाभ हानीको तराजुमा राखेर गैह्रआवासीय नेपालीको यो अभियानलाई जोख्नु बुद्धिमत्ता हुँदैन। त्यसका लागि असंलग्न भएर बसेका तर योग्यता र दक्षताले भरिपूर्ण गैरआवासीय नेपालीहरूलाई संघको मूलधारमा आकर्षित गर्नै पर्दछ।
व्यक्तिगत लगानीलाई निरूत्साहित गरेर सामूहिक लगानीलाई बल पुर्याउनु पर्दछ। विदेशमा रहेका नेपालीहरूको सरोकार र जन्मभूमिप्रतिको परोपकार नै एनआरएन अभियानको मूल मन्त्र हुनुपर्दछ। यदि त्यसो भयो भनेमात्र लक्ष्य प्राप्तिको दिशामा अघि बढ्न सकिन्छ अनि संस्थाको शाखको समेत अभिवृद्धि हुनेछ।