गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन नजिकिँदै गर्दा सरगर्मी बढेको छ। अध्यक्षमा जर्मनीका वर्तमान कुमार पन्त र बेलायतका कुल आचार्य लड्ने चर्चासँंगै महत्वपूर्ण पदमा पनि अन्य प्रत्यासीहरुको चर्चा बढेको छ।
जसमा यतिखेर महासचिव पदमा भोट माग्दै गैर आवासीय नेपाली संघ अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेल अस्ट्रेलिया आइपुगेका छन्। प्रजातन्त्रबादीहरुको पुरानो संगठन नेपाल अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)ले बिहीबार सिड्नीमा पौडेलको सम्मानमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
साे कार्यक्रममा बोल्दै एनआरएन अमेरिकाका निर्वतमान अध्यक्ष पौडेलले डेमोक्रयाटहरु एनआरएनमा सधै बेहुला बिनाको जन्तीझै रहेको टिप्पणी गरे। ‘बिहेमा त जान्छन् जन्ती भएर, तर बेहुला छान्ने काम भने गर्दैनन्’ उनले भने।
पौडेलले एनआरएन भित्रको बिसंगतीका बिरुद्ध आफ्नो महासचिवमा उमेद्वारी भएको दावी गरे। ‘अहिले केही व्यक्तिको हातमा एनआरएनएको संगठन औलामा नाचिरहेको छ, उनीहरु आफ्नै आसेपासेलाई मात्र महत्वपुर्ण पदमा जिताएर सधै राज गर्न खोज्छन्, अब त्यसो नहुनका लागि पनि महासचिवमा मेरो दावी हो’ सिड्नीमा उनले भने।
एनआरएनको मुल मुद्दाका रुपमा रहेको दोहोरो नागरिकता कार्यान्वयन, नेपाल भ्रमण वर्ष सफल बनाउन र नेपालमा सिप तथा लगानी भित्र्याउने कुरामा आफ्नो बिशेष भूमिका रहने उनले बताए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले एनआरएन अमेरिकाको दुइ पटक सफल नेतृत्व गरेका डा केशव पौडेल महासचिवका लागि योग्य उमेद्वार रहेको र अस्ट्रेलियामा रहेको सबै एनआरएनकर्मीले उनलाई सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका निर्वतमान अध्यक्ष गणेश केसी, सुरेन्द्र सिग्देल, आइसिसीकी पुर्व प्रवक्ता रन्जु थापा, पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका पुर्व उपाध्यक्ष नन्द गुरुङ, एनएडिएफका पुर्व अध्यक्षहरु बालचन्द्र भट्टराइ, दिनेश जोशी, डिल्ली ढकाल लगायतले पौडेललाई सफलताको शुभकामना दिए।