आउँदो अक्टोबर १५ देखि काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा अस्ट्रेलिया जुटिसकेको छ।
अस्ट्रेलियाकै धनाढ्य शेष घलेले दुई पटक नेतृत्व गरेको यस संस्थाको घेरा फराकिलो बन्दै जाँंदा पछिल्लो पटक जापानका व्यवसायी भवन भट्टले अध्यक्षको बाजी मारेका थिए।
अस्ट्रेलियाकै व्यवसायी जमुना घलेलाई पराजित गर्दै भट्टले नेतृत्व हात पारेका थिए। यस पटकका लागि अस्ट्रेलियाले अहिलेसम्म तीन उपाध्यक्ष र सचिव पदमा मात्र आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। नेतृत्वको लागि उम्मेदवार नदेखिए पनि उपाध्यक्ष र सचिव पदमा भने केहीको उम्मेदवारी पर्ने भएको छ।
अस्ट्रेलियाको एनआरएनमा जोडिएका पुराना अनुहार नै यस पटक उम्मेदवारको आकांक्षीका रुपमा अगाडि आएका हुन्। एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष तथा आइसिसीका पुर्व प्रवक्ता मन केसी र एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले अस्ट्रेलियाबाट आइसिसी उपाध्यक्षमा उठ्ने घोषणा गरेका छन् भने महिला उपाध्यक्षमा पुर्व प्रवक्ता रन्जु थापाले आफ्नो इच्छा ब्यक्त गरेकी छिन्।
यस्तै अहिलेसम्म आइसिसी सचिवमा एनआरएनका पुर्व उपाध्यक्ष अभिमानसिंह बस्नेतले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। एनआएनको लामो आरोह अवरोहमा जोडिएका यी अनुहारहरु यस पटक अस्ट्रेलियाको प्रतिनिधित्व गरेर आइसिसीमा जाने तयारीमा जोडतोडले लागेका छन्। भोट माग्न केही देश बिदेश पुगिसकेका छन् भने केही लबिङ र बैठकमा ब्यस्त देखिन्छन्।
संसारकै दोस्रो ठूलो एनसिसीका रुपमा रहेको अस्ट्रेलियाले गैर आवासीय नेपाली संघको मुलमन्त्रमा सधै आफूलाई अब्बल ठहर्याउदै आएको छ । यस कारण पनि तीन उपाध्यक्ष र एक सचिव माग्नु सामान्य रहेको सम्वन्धित उम्मेदवार बताउँछन्। लगभग ८० देशमा फैलिएको एनआरएनभित्र एउटै मुलुकले तीन उपाध्यक्ष खोज्नु उचित नभएको भन्ने हरु पनि कमी छैनन्।
अझैसम्म यी उमेद्वार कुन समूह र टिमवाट उठ्ने भन्ने कुरा प्रष्ट भइसकेको छैन। स्मरण रहोस् मन केसीको घोषणासभामा अस्ट्रेलियाका शेष घले र जमुना घले स्वंय उपस्थित भएका थिए।
यस पटक ओसेनिया क्षेत्रको संयोजकमा दिनेश जोशी ,बालचन्द्र भट्टराई, केशव सापकोटा र प्रेम सापकोटा, होम पाण्डे तथा वविता श्रेष्ठको नाम चर्चामा आएको छ । डेपुटी कोर्डिनेटरमा नबिन कडेंल तथा युवा संयोजकमा राजेश बुढाथोकीको नाम चर्चामा आएको छ।
आइसिसी युवा संयोजकमा स्वतन्त्र प्रताप साहले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।