एनआरएन अस्ट्रेलियाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ।
‘औपचारिकतामा सम्पन्न हुने पहिलो बैठक भए पनि यसमा केही महत्वपूर्ण सन्देश जाने खाले केही निर्णय लिएर अगाडि बढेका छौं’ , एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले भने।
संस्थाका अध्यक्ष केशव कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले निवर्तमान कार्यसमितिलाई बधाई ज्ञापन गर्नुका साथै आउँदो अक्टोबर १० मा क्यानबेरामा आयोजना हुने विश्वकप छनोट चरणमा नेपालको राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न र उनीहरूलाई केही अघि यहाँ ल्याइ हावापानी र वातावरण अनुकूल बनाउन युवा संयोजक इर्शाद अहम्मदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।
समितिमा सञ्चारकर्मी हेमन्त काफ्ले,महासचिव ज्ञानेन्द्र रेग्मी,उपाध्यक्ष देव गुरुङ, कोषाध्यक्ष अनिल पोखरेल, पूर्वउपाध्यक्ष नन्द गुरुङ रहेका छन्।
पहिलो बैठकले टुवाम्बामा सञ्चालित नेपाली भाषा पाठशालालाई आवश्यक मसलन्द खरिदका लागि एक हजार डलर सहयोग गर्ने र युवाहरूको सहभागिता र सदभाव बढाउन १२ हजार डलर बराबरको स्पोर्टस फन्डको विनियोजन गरेको महासचिव रेग्मीले बताए।
‘राष्ट्रको प्रगति उन्नतिमा मरिमेट्ने प्रवासी समाजको पहिलो कर्तव्यको रूपमा अस्ट्रेलियासँग खेल्न आउँदै गरेको नेपाली राष्ट्रिय फुटबल टोलीको हौसला बढाउनु पनि हो। त्यसैले हामीले यसलाई प्राथमिकतामा राखेर पहिलो बैठकमा सम्बोधन गर्ने प्रयास गरेका छौं’, महासचिव ज्ञानेन्द्रले भने।
यसरी नै नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुँदै गरेको विश्वकप छनोट चरणको अस्ट्रेलियाविरूद्धको खेलका लागि नेपाली राजदूतावाससँग समन्वय गरी प्रभावकारी ढंगले अगाडि बढाउन एनआरएन एसिटीको तर्फबाट चुडामणि सापकोटाको नेतृत्वमा कार्य अगाडि बढाउन बैठकले निर्णय गरेको छ।
एनआरएनए अस्ट्रेलिया फाउन्डेसन र नेपाली डायस्पोरा पोलिसी इन्स्टिच्युटका कार्य छिटो सञ्चालन गर्न र प्रभावकारी बनाउने हेतु छिट्टै वर्कसपको आयोजना गरिने निर्णय समेत गरिएको महासचिव ज्ञानेन्द्र रेग्मीले जानकारी दिए।
उक्त वर्कसपमा विविध विषयका विज्ञलाई सहभागी गराई कार्ययोजाना तय गरिने भएको छ। यसैगरी एनआरएनए अस्ट्रेलियाका सदस्यहरूलाई विविध विषयमा सहुलियत योजना लागू गर्ने उद्धेश्यसहित संस्थाकी सचिव उषा किरण बारिया पोख्रेलको संयोजकत्वमा समिति गठन गरिएको छ।
उक्त टिमको सहसंयोजकमा संस्थाका कोषाध्यक्ष अनिल पोख्रेल छन्। उक्त टिमले छिट्टै यसका बारेमा अध्ययन प्रतिवेदन तयार गर्ने छ।
पहिलो बैठकले गर्ने भनिएको मनोनयन र सल्लाहकार नियुक्ति भने आवश्यक परामर्श र तयारी नपुगेको भन्दै समितिले प्रस्तावका रूपमा ल्याउन नचाहेको बैठकमा सहभागी एक निर्देशकले बताए।
मनोनयनमा अन्य विषयमा टुंगो लागे पनि प्रवक्ताको विषयमा भने अझै टुंगो लाग्न नसक्दा मनोनयनलाई पछि सारिएको हो।
केही विवाद र मुद्दा मामिलामा फसे पनि आरोप लगाउनेहरूले मुद्दा फिर्ता लिएपछि एनआरएन आफ्नो नित्यकर्म र प्रक्रियामा अगाडि बढेको हो।