सिड्नीको एउटा नर्सिङ होममा सहायक नर्सका रूपमा कार्यरत एक नेपालीले डिमेन्सियाकी रोगी (बिर्सने रोग) को मुखमा ‘वाइप्स’ कोचिदिएको सम्बन्धमा दायर भएको मुद्दाकी आरोपीलाई अदालतले दोषी ठहर गरेको छ।
उत्तरी सिड्नीको नारविनस्थित आरएसएल लाइफ केयरमा काम गर्ने अनिता नामकी नेपाली केयरटेकरले ८० वर्ष कटेकी एक डिमेन्सिया रोगीलाई सन् २०१८ को नोभेम्बर महिनामा मुखमा भिजेको वाइप्स कोचेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।
प्रारम्भमा नेपाली नर्सले आफूले त्यसो नगरेको भन्दै अदालतमा बचाउ गरे पनि उनकै सहपाठीले रोगी वृद्धालाई चुप लगाउन अनिताले वाइप्स कोचेको बयान दिएकी थिइन्।
अदालतसामू अनिताको वकिलले कामको प्रतिस्पर्धामा सहपाठीले अनितामाथि मिथ्या आरोप लगाएको भन्दै बचाउको प्रयास गरेता पनि म्यान्ली अदालतले सोमबार अनितालाई कसूरदार ठहर्याएको अस्ट्रेलियाको सेभेन न्यूजले जनाएको छ।
उनलाई कसूरदार ठहर्याए पनि अदालतले के कारबाही गर्ने भन्ने सेभेन न्यूजमा उल्लेख छैन।
उक्त निर्णय चित्त नबुझे पुनरावोलकनका लागि माथिल्लो निकाय जान भने सकिनेछ।