अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित फुटबल क्लबका रूमा चिनिएको वेस्ट युनाइटेड क्लबले आफ्नो वार्षिक कार्यक्रमको आयोजना गर्दै खेलाडीलाई सम्मान गरेको छ।
सन् २००७ मा स्थापना भई एक दशकभन्दा बढी लामो यात्रा पार गरेको वेस्ट युनाइटेड क्लबले अस्ट्रेलियाको नेपाली समुदायबीच हुने विभिन्न प्रतियोगितामा आधा दर्जन उपाधिसहित आपसी भाइचारा र नेपाली समुदायबीच एकता गाँस्ने काम गर्दै आएको छ।
यस वर्ष क्लबले अस्ट्रेलियाको नेपाली समुदायभित्रका दुई महत्वपूर्ण
प्रतियोगिताको उपाधि चुमेको थियो।
आइतबार वेस्ट युनाइटेडले आफ्ना क्लबका नयाँ भित्रिएका खेलाडीलाई स्वागत, क्लबलाई सहयोग गर्ने प्रायोजकहरूलाई सम्मान र पुराना खेलाडीहरूलाई अभिनन्दन तथा वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरी आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
कार्यक्रममा क्लबका अध्यक्ष कुमार अर्यालले प्रारम्भका दिनमा फुटबल खेल्दा टिम समेत नपुग्ने इतिहास सुनाउँदै भने, ‘अहिले सबैको सहयोग र खेलाडीहरूको माया ममताले क्लबले विभिन्न चरणमा सफलता हात पारेको छ।’
यस वर्ष क्लबको तर्फबाट उत्कृष्ट गोलरक्षकमा सामुयल श्रेष्ठ ,उत्कृष्ट खेलाडीमा अनुप थापामगर घोषित भए।
क्लबले यसै कार्यक्रममार्फत् कुमार अर्यालको अध्यक्षतामा नयाँ कार्यसमितिको घोषणा समेत गरेको छ। जसको उपाध्यक्षमा रुपेश खड्का, सचिवमा सुमन बोहरा र कोषाध्यक्षमा सुनिल खत्री रहेका छन्।