महिलाको महान चाड भए पनि प्रवासमा सबैले मनाउने तिजको मेलाले यतिखेर अस्ट्रेलियालाई छपक्कै छोपेको छ।
यसै क्रममा पछिल्ला केही हप्तादेखिको निरन्तरतालाई कायमै राख्दै अर्वन नेपाली समाजले अगष्ट २४ शनिबारका दिन लिडकमको वायट पार्कमा ‘अबर्न तीज महोत्सव २०१९’ भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ।
समाजले नेपाली कला संस्कृतिको जर्गेनाका साथै मौलिक चाडलाई मनाउने क्रममा शनिबार नेपालका चर्चित लोक गायकका साथ लिडकममा महोत्सवको भव्य रूपमा सम्पन्न भएको जनाएको छ।
समाजका अध्यक्ष अशोक उप्रेतीले ‘नेपाली संस्कृतिको जगेर्ना गर्दै प्रवासमा पनि हाम्रो प्रमुख चाडमध्ये एक तीजलाई आफ्नै मौलिक ढंगबाट मनाउनुका साथै दोस्रो पुस्ताका नेपालीहरूलाई समेत हाम्रो पर्वको चिनारी दिनका लागि यो महोत्सव सफल भएको बताए।
चर्चित लोकगायक बद्री पंगेनी, प्रीति आले, प्रकाश सपुत लगायतको उपस्थिति र गीत संगीतले सिड्नीको वायट पार्क लोकलयमा गुन्जायमान भएको थियो।
निकै भीडभाडबीच दिउँसोदेखि रातिसम्म चलेको कार्यक्रममा आकर्षक नृत्य र स्थानीय कलाकारहरूको विशेष प्रस्तुती पनि समेटिएको थियो।
गलबन्दीबाट प्रशिद्धी पाएका प्रकाश सपुत र शिला आलेको गलबन्दीले दर्शकलाई खुला चौरमा नाच्न बाध्य बनाएको थियो।
आयोजकले सिड्नीवासी नेपाली दाजुभाइलाई लिडकम आएर मनोरन्जन लिई कार्यक्रमलाई सभ्य र भव्य बनाइदिएकोमा धन्यवाद समेत दिएको छ।
स्थानीय पार्कमा निःशुल्क प्रवेशको व्यवस्था रहेको उक्त महोत्सवमा नेपाली खाानाको पनि विशेष व्यवस्था रहेको थियो।
विदेशमा रहेर स्थानीय नेपाली समाजमार्फत् आफ्नो मौलिकता जर्गेनाका लागि मेला महोत्सवको आयोजना गर्नु महत्वपूर्ण विषय बनेको समाजका सल्लाहकार दिनेश पोखरेलले बताए।