उनी पिज्जा बेच्छन् र सबैले उनलाई चिन्छन् पनि त्यसरी नै।
ए त्यो डोमिनोजवाला दाइ भनेर।
अस्ट्रेलियाको नेपाली समाजभित्र अलग र फरक पहिचान बनाएका नुवाकोटका धर्मराज अधिकारीका पनि थुप्रै सपना थिए।
मुलुकमा राजनीतिक परिवर्तन र जनपक्षीय घटनाक्रममा खुलेरै झन्डा पनि बोके अनि ०४६ सालको आन्दोलनमा गोलीको निशाना छातीमा पनि ठोके। तर राजनीतिक घटनाक्रमले फरक मोड लिँदै गर्दा अधिकारीले भने अस्ट्रेलियाको बाटो रोजे। यतै आए, संघर्ष गरे अनि सपना सजाए र अस्ट्रेलियाको नेपाली समाजमा रमाए।
पढाइ, लेखाइ अनि सिकाइपछि अधिकारीले ट्याक्सी किनेर विजनेसमा पाइला टेके तर उनको व्यापारलाई अपार बनाउने रहर यतिमा मात्र सीमित थिएन।
बिस्तारै संसारमै चिनिएका पिज्जाको ब्रान्ड डोमिनोज किनेर यसलाई अगाडि बढाए।
उनको रहर र लगावले दिनादिन व्यापार अपार हुँदै गयो।
यतिखेर १२ वटा डोमिनोजको स्टोर चलाएर नुवाकोट तारुकाका धर्मराजले यसै ब्रान्डलाई शान र मान बनाएका छन्।
कर्म गरे फल मिल्छ भन्ने उनको आख्यान सिड्नीका धेरै नेपालीले उदारहणका रूपमा लिएका छन्।
दुई दशकको अस्ट्रेलिया बसाइँले उनलाई नेपाली समाजमा पनि स्थापित गरिसकेको छ।
एनआरएनभित्र सामाजिक अभियन्ताका रूपमा उनले लामो समय र स्रोत खर्चिसकेका छन्।
हाल एनआरएनको ओसेनिया क्षेत्रको संयोजकका रूपमा अधिकारीले पदीय मर्यादालाई स्तरीयताको कसीमा अब्बल दर्जामा उभ्याएका छन्।
कामका हिसाबले पनि दुई वर्षमा दुइटा अन्तर्राष्ट्रिय स्तरको बृहत सम्मेलनको आयोजना र आइसिसीका सबैखाले काम कर्तव्यमा प्रत्यक्ष सहभागिताले उनलाई समाजमा स्थापित गरेको छ।
प्रवासमा बसेर सामाजिक कार्य आफैंमा सहज विषय होइन।
आफ्नो समय खर्चेर अनि गोजीको डलर झिक्नु मात्र होइन, व्यापार र पेशालाई थाती राखेर रात बिरात हिँड्दै गर्दा यसले चुकाउने मूल्य भनेको आत्मसम्मान र सन्तुष्टि मात्रै हो।
तर धर्मराजले भने पछिल्लो एक दशकदेखि सामाजिक अभियानमा लाग्दै गर्दा आफूलाई रतिभर पनि थाकेको महशुस गरेका छैनन्।
शुक्रबार सञ्चारकर्मीसँग भेट गर्दै आगामी दिनमा अझै सबल रूपमा सामाजिक अभियानमा लाग्ने कुरामा आफू कटिबद्ध रहेको बताए।
एनआरएनको आगामी अक्टोबर महिनाको १३ देखि १६ सम्म आयोजना हुने विश्व सम्मेलनमा केन्द्रीय उपाध्यक्ष पदमा ओसेनियाको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेको उनले बताए।
‘मुलुकसँग जोडिएको महत्वपूर्ण पाटोको रूपमा रहेका एनआरएनका अनेकन अभियानमा सहभागी भएर केही गर्ने रहर जागेको छ र अब ओसेनियाबाट एक खुट्किलो माथि सरेर आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको हुँ’, धर्मराजले सेतोपाटीसँग भने।
प्रारम्भमा पढाइ, लेखाइ ,बसाइँ अनि संघर्ष र सफलतासम्म आइपुग्दा धर्मराज अधिकारीले धेरैखाले परीक्षामा आफूलाई अब्बल सावित गरिसकेका छन्।
‘आउँदो अक्टोबरमा पनि संसारभर छरिएर रहेका साथीभाइले माया गरेर यो उपाध्यक्षको परीक्षामा पनि पास गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु’, धर्मराजले मन्द मुस्कानका साथ भने।
उनले दोहोरो नागरिकता, लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, विदेशमा सिकेको सीप र ज्ञानलाई नेपाल पुर्याउने अभियानमा योगदान दिने योजना रहेको सुनाए।
गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १३ देखि १६ तारिखसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ।
यो सम्मेलनले ८० देशका करिब पन्ध्र सय प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ।
यस पटक आइसिसीको अध्यक्षमा भने हालका उपाध्यक्ष जर्मनीका कुमार पन्तको चर्चा चुलिएको छ।
उनीसँगै बेलायतका कुल आचार्यको पनि नाम अगाडि आएको छ।