विकास निर्माणको विविध पाटो र विदेशी विकासको ढाँचा अवलोकन गर्न नेकपाका तीन सांसदहरू एलपी साँंवा लिम्बू, नर बहादुर धामी,सुरेश राई तथा राजपाको प्रदेश सभासद प्रमोद शाह यतिखेर दस दिने अस्ट्रेलिया भ्रमणमा रहेका छन्।
यस्तै एनआरएन अस्ट्रेलियाको निमन्त्रणामा साधारणसभामा अतिथिका रूपमा आएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि मेलवर्नको कार्यक्रम सकेर सिड्नीमा रहेका छन्।
नेपाली समाजले शनिबार नेपाली राजनीतिज्ञहरूको सम्मानमा सिड्नीमा अन्तर्क्रिया आयोजना गरेको छ।
कार्यक्रममा नेकपाका सांसद एलपी सावाँले यहाँको उन्नति, प्रगतीमा रमाएका आम नेपालीले अब देशको प्रगतिमा हात बढाउनुपर्ने बेला आएको बताए।
साँवाले देशमा थुप्रै परिवर्तन भए पनि मुलुक अझै पुरानै ढर्राबाट उन्मुक्ति हुन नसकेको टिप्पणी गरे।
यस्तै, अर्का सांसद नर बहादुर धामीले देश परिवर्तनको संघारमा रहेको र विकास निर्माणको गतिमा अगाडि बढेको सुनाए। उनले विकास निर्माण एकै दिनमा सम्भव नभएकाले यसका लागि केही समय लाग्ने सुनाए।
अर्का सांसद सुरेश राईले अस्ट्रेलियाजस्तो समृद्ध मुलुकको प्रगति र उन्नतिको आधारहरू हेर्न र यहाँ रहेका नेपाली विद्यार्थी र शिक्षाको अवस्थामा आफूहरूले जानकारी लिन चाहेको उनले बताए।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजनीतिलाई पेशा बनाएका कारण हाम्रो देश पछि परेको बताए। उनले राजनीति गर्नेले राजनीतिबाट नभई अन्य व्यवसाय पेशाबाट बाँच्ने आधार खोज्नुपर्ने बताए।
मेयर पराजुलीले आफूले प्राप्त गर्ने सबै तलब भत्ता आफ्नो क्षेत्रको सरकारी स्कुलको विकास निर्माणमा लगाएको बताउँदै भने ‘राजनीतिमा युवापुस्ताको प्रवेशले केही नयाँ आधार तय गरेको छ।’
जनतालाई विश्वास दिलाउन सकेमात्र आफूले गरेको राजनीति सफल हुने भन्दै मेयर पराजुलीले भने, ‘तपाई राजनीतीलाई नै खाने बस्ने र पालन पोषणको आधार मान्नु हुन्छ भने त्यसले राजनीतिलाई सदैव बद्नाम मात्र गर्नेछ।’
अन्तर्क्रियामा अस्ट्रेलियाको क्यानबेरामा आयोजना हुने बैंकिङ कार्यक्रममा सहभागी हुन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको मौद्रिक नीतिका बारेमा सोधिएका केही प्रश्नको जवाफ दिएका थिए।
एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाका निवर्तमान अध्यक्ष तथा आइसीसी सदस्य अरुण कुमार ठाकुरले नेपालबाट आएका सांसद, मेयर लगायतलाई खादा ओढाएर सम्मान गरेका थिए।
एन्टाका संस्थापक सदस्य प्रविण चौरासियाले सञ्चालन गरेको कार्यक्रममा एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी तथा सामाजिक अभियन्ता भवानी ओली लगायतले आआफ्ना धारणा राखेका थिए।