यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीको लोकप्रिय शैक्षिक गन्तव्य बनेकोमा दुईमत छैन। पचास हजार विद्यार्थीको संख्या र बढ्दो चापले पनि यस कुरालाई सहजै प्रमाणित गरेको छ।
हुन त यहाँ स्थायी बसोबास गर्ने र व्यवसायमा जमेकाहरू पनि कुनै बेला विद्यार्थीका रूपमा अस्ट्रेलिया छिरेका हुन्।
अस्ट्रेलियामा आउने नेपाली विद्यार्थीले विरानो अनुभव गर्दैनन् यहाँ। अन्य देशको तुलनामा अस्ट्रेलियामा स्थापित हुन पनि सजिलो भएकाले नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया गतिलो गन्तव्यको रूपमा मानिएको छ।
तर यतिखेर अस्ट्रेलिया आउने नेपाली विद्यार्थीका लागि आर्थिक व्यवस्थापन एउटा ठूलो चुनौती बनेको छ। विद्यार्थीलाई पढाइ खर्च, आफ्नो बसाइँ धान्न निकै मुश्किल परिरहेको भान हुन्छ।
प्राय: नेपाली विद्यार्थीले अभिभावकले सधैं फि पठाएर पढ्ने हैसियत राख्दैनन्,एक पटकको सिड मनी हालेर पठाएपछि यही आएर कामकाजमार्फत पढाइ पूरा गर्ने ९५ प्रतिशत नेपालीको नियति हो।
त्यसमाथि नेपालमा रहेका नातागोताको आशाले पनि पिरोलिन्छन् नेपाली विद्यार्थी। विदेश गएपछि डलर फल्छ भन्ने गलत सोचले पनि ग्रसित छन् विद्यार्थी।
अस्ट्रेलिया गएर सम्भावनाको ढोका खोल्ने नेपाली विद्यार्थीको साँचो गएको दुई चार वर्ष हल्लेर फर्किने वा यतै रुमल्लिने हाँसोको विषय नबनोस्।