नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी(नवाज)कप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न क्वार्टर फाइनल खेलमा दी राइजिङ गोर्खाज क्लब (टीआरजी)ले सेन्ट जोर्ज फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
हरेक आइतबार सञ्चालन हुने नवाज कप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा टीआरजीले सेन्ट जोर्जलाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
मध्यान्तरसम्म प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले गोल गर्ने मौका खेर फालेका थिए। टीआरजीका खेलाडीहरूले भने प्राप्त मौकालाई सदुपयोग गर्न सफल भएपछि जितलाई फराकिलो पारे।
टीआरजीका तर्फबाट प्रनिश रन्जीतले दुई गोल, पारस थापा र इनोज न्यौपानेले एक-एक गोल गरेका थिए। प्रतियोगितामा टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुनिल भण्डारी म्यान अफ दी म्याच हात पारे।
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्याल तथा प्रबन्धक मञ्जित घिमिरेले म्यान अफ दी म्याच सुनिल भण्डारीलाई ट्रफी प्रदान गरे।
एक्सपर्ट क्रिकेट क्लबमा सन्तोष
यसैबीच एसफिल्ड पार्कमा एक्सपर्ट क्रिकेट क्लबको वार्षिक साधारण सभा तथा प्रायोजक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
साधारणसभाले एक्सपर्ट क्रिकेट क्लबको अध्यक्षमा सन्तोष शर्मालाई चयन गरेको छ।
क्लबका प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर बद्री अर्यालले क्लबमा आवद्ध हुन चाहने विद्यार्थीहरूको सदस्यता शुल्क एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले तिरिदिने घोषणा गरेका थिए।
नेपाली युवाहरूलाई क्रिकेटमार्फत् शारीरिक तथा मानसिक रूपमा बलियो बनाइराख्नको लागि एक वर्ष अगाडि मात्र यो क्लबको आधिकारिक रूपमा गठन गरिएको थियो। यस क्लबले सिड्नीमा हरेक वर्ष आयोजना हुने प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ।
क्लबले गत वर्ष प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको सहकार्यमा एक्सपर्ट क्रिकेट फेस्टिभलको पनि आयोजना गरेको थियो।
नेपालबाट नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र अर्का खेलाडी दिपेन्द्र सिंह ऐरीको सहभागितामा अस्ट्रेलियाको मुख्य सहरमा क्रिकेटसम्बन्धी तालिम समेत आयोजना गरिएको थियो।