संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएका महेश दाहाललाई सर्वसम्मतले अनुमोदन गर्यो। अब केही समयपछि राष्ट्रपतिले सपथ खुवाएपछि उनले कार्यभार सम्हाल्नेछन्।
समय र संयोगले पनि अस्ट्रेलिया पहिलोदेखिनै माओवादीको पहिलो छनोटका रूपमा देखिँदै आएको छ। पार्टी एकताअघिका दुई राजनीतिक राजदूत नियुक्ति पनि माओवादीले नै गरेको थियो र तेस्रो पटक पार्टी एकीकरण पश्चात पनि आन्तरिक मोर्चाबन्दीमा महेश दाहाल माओवादीकै समूह अन्तर्गत पर्दछन्।
पहिलो कूटनीतिक नियुक्ति र नेपाल अस्ट्रेलिया सम्बन्ध अनि नेपालीको साख र विद्यार्थीका टडकारा समस्यालाई दाहालको आगमनले कस्तो प्रभाव पार्ने हो त्यो भने उनको कार्यशैलीले दिशा निर्देश गर्नेछ।
तर यतिखेर उनको आगमनसँगै यहाँको समाजमा भने निकै रमाइलो परिदृष्य देखिएको छ।
एकथरि चितवनमा सँगसँगै उठबस गर्ने र राजनीतिक प्रजातान्त्रिक सहयात्रीहरू उनलाई नेकपामा प्रवेशलाई पारिवारिक सम्वन्धमा जोडेर मात्रै हर्ने गर्छन्।
चितवनकै राजदूत र त्यसमाथि कांग्रेसीहरूका पुराना मित्र र नेकपाका लागि पार्टीका कमरेड आफैंमा रोचक र मोहक विषय बनेको छ महेश दाहालको आगमन।
यस पटक राजनीतिक नियुक्ति पाएका महेश दाहालको लागि यो विषय निकै महत्वपूर्ण र चुनौतीपूर्ण देखिन्छ।
एकथरि कांग्रेसीहरू हैट.. जता गए पनि हाम्रै मान्छे हो भन्न पछि पर्दैनन् भने उनलाई नियुक्त गर्ने दल नेकपाको पर्ख र हेर रणनीति त छँदैछ। त्योभन्दा पनि महत्वपूर्ण चुनौती भनेको पचास हजार विद्यार्थीका समस्या र एक लाख नेपालीको साझा विचार र दुई देश बीचको आपसी सम्वन्ध रहेको छ।
राजनीतिमा लामो भोगाइपछिको छलाङ मारेका महेश दाहाल पक्कै पनि कूटनीतिक मर्यादा र सामाजिक परिवेश अनि राजनीतिक रंगमा खरो उत्रनु जरुरी छ।
राणाकालमा बेलायत र अमेरिकासँग राखेको सम्बन्धबाट सुरू भएको कूटनीतिक महेन्द्र र बीपीका समयमा तेस्रो मुलुकमा नेपालको ढोका खोलेको अवस्थाबारे तुलना गर्नैपर्ने हुन्छ।
हाम्रो कूटनीतिक यात्रा विगतमा जति बलियो थियो, उति नै धर्मराएको अवस्था छ अनि विश्वास टुट्दै गएका छन्।
कूटनीति प्रभावकारी बनाउन सत्तारूढ र प्रतिपक्ष सबै दलहरूको एकै स्वर हुनुपर्ने हो, त्यो देखिँदैन। बलियो सरकार रहँदा कूटनीतिक विकास झन् प्रभावकारी बन्नुपर्ने हो।
मुलुकको शिर उँचो भएमात्र नागरिक सम्मानित हुने हुनाले यसमा नेतृत्वले ध्यान दिन जरुरी छ। परराष्ट्र नीति कहिल्यै परिवर्तन नहुने तर कार्यान्वयन विधि र प्रक्रिया फरक हुने भएकाले यसमा हामीले ध्यान दिन जरुरी छ।
हरेक मुलुकको कूटनीतिक अभ्यास फरक हुने हुँदा यसमा हामी बढी नै सचेत हुनुपर्छ।
मुलुकको स्वार्थमा हुने गरी कार्यान्वयन र विधि प्रक्रियामा ध्यान दिनुपर्नेमा हामी व्यक्ति, परिवार, दल अनि बल्ल मुलुकमा पुग्छौं। यसबाट मुक्त हुन जरूरी छ दाहालले।