आर्टन क्यापिटलद्वारा प्रकाशित शक्तिशाली राहदानीहरूको सूचीमा सबभन्दा शक्तिशाली राहदानी बन्दै संयुक्त अरब इमिरेट्सले पहिलो स्थान ओगट्न सफल भएको छ ।
नेपालले ८२ औं क्रममा रहेर कोसोभो र लेबनानसँग आफ्नो स्थान पुछारमै सीमित राखेको छ। विभिन्न राष्ट्रले दिएको प्रवेशको सुविधा र अनअराइभल भिसा अनि भिसा लिएर जानुपर्ने राष्ट्रका आधारमा गरिएको मूल्यांकनमा आर्टन क्यापिटलले यो सूचि प्रकाशित गरेको हो।
एक सय १६ देशमा बिनाभिसा प्रवेश गर्न पाउने र ५७ वटा राष्ट्रहरूमा भिसा अन अराइभल वा ती राष्ट्रमा पुगेपछि अध्यागमन विभागमा गएर भिसा पाउन सक्ने हुनाले संयुक्त अरब इमिरेट्सको पासपोर्ट सबभन्दा बलियो पासपोर्टका रूपमा रहेको तथ्यांकले देखाएको छ। तर २५ वटा राष्ट्रहरूमा जान भने युएइका राहदानीवालाले पनि पहिले नै भिसा आवेदन हालेर भिसा पाएको हुनु पर्दछ।
यस्तै, वरियताक्रममा छैठौं स्थानमा रहेको अस्ट्रेलियाको राहदानी वाहकलाई एक सय ११ राष्ट्रहरूमा जान भिसा चाहिँदैन भने ५३ वटा राष्ट्रहरूमा त्यहाँ पुगेपछि भिसा लगाउनु पर्छ।
तर अस्ट्रेलियन पासपोर्ट होल्डरले ३४ राष्ट्रमा चाहिँ पहिले नै भिसा पाएपछि मात्र जान पाउने छन्।
पासपोर्टको यो पछिल्लो वरियतामा अस्ट्रेलियासँगै चेक गणतन्त्र, हंगेरी, स्लोभेनिया र न्युजिल्याण्ड रहेका छन्।
यस्तै विश्वको शक्तिशाली राष्ट्र अमेरिका पनि पासपोर्टको वरियतामा भने तेस्रो नम्बरमा परेको छ।
अमेरिकाका लागि एक सय १७ देशमा भिसा नचाहिने पचास राष्ट्रमा अन अराइभल भिसा र ३१ राष्ट्रमा भिसा आवश्यक पर्दछ। स्पेन र फिनल्यान्ड र लक्जम्बर्ग भने वरियताको दोस्रो नम्बरमा रहेका छन्।
नेपालको राहदानी वाहकलाई ५० राष्ट्रहरू प्रवेश गर्न पहिले नै भिसा लिनुपर्दैन। नेपाली राहदानी वाहकले एक सय ४८ राष्ट्रमा भिसा लिएर मात्र जान सक्नेछन् भने १३ राष्ट्रमा भिसा नै चाहिँदैन। सोही देश पुगेपछि भिसा लिनुपर्ने ३७ वटा राष्ट्रहरू रहेका छन्।
यस्तै, वरियतामा रहेका लेबनान र कोसोभोका राहदानीले क्रमशः १६ र १४ वटा राष्ट्रहरूमा जान भिसा चाहिँदैन।
तर पनि भिसा नचाहिने राष्ट्रको सङ्ख्या कम भएकोले नेपालको राहदानीलाई भने व्यक्तिगत वरियतामा भने १८० औं स्थानमा राखिएको छ।
विश्वव्यापी राहदानीको सूचीमा कमजोर तथा व्यक्तिगत रूपमा १९९ औं स्थानमा अफगानिस्तान रहेको सूचीले देखाएको छ।
अफगानिस्तान भन्दा माथि कमजोर राहदानीको सूचिमा क्रमस इराक,लिबिया र पाकिस्तान रहेका छन्।
तर शक्तिशाली राहदानीहरूका सम्बन्धमा आर्टन क्यापिटलको भन्दा भिन्न रहेको हेन्ली एन्ड पार्टनरसले भने जापान र सिंगापुरलाई शक्तिशाली पासपोर्टका रूपमा चित्रण गरेको छ। यो सूची भने अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) को तथ्यांकलाई आधार मानेर बनाइएको हो।
आर्टनको सूचीमा जापान तेस्रो र सिंगापुर चौथो वरियताभित्र अटाएका छन्।