अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संगठन काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्टस अस्ट्रेलिया (सीसा) को नवौं राष्ट्रिय सम्मेलन यही आउँदो जुलाई १५ देखि १९ सम्म पर्थमा हुने भएको छ।
चार दिनसम्म चल्ने सम्मेलनमा वार्षिक साधारणसभा पनि हुनेछ जसले नयाँ नेतृत्व चयन गर्ने छ।
कार्यक्रमको शुभारम्भ शिक्षा मन्त्री सु इलेरीले गर्ने पक्का भइसकेको छ।
सीसाका वर्तमान अध्यक्ष विजय सापकोटाका अनुसार यसपटक सीसाको नयाँ नेतृत्वको चयनको तयारी समेत पूरा भइसकेको छ।
दुई कार्यकाल अध्यक्षका रूपमा सफलतापूर्वक संस्था हाँकेका नेपाली विद्यार्थी विजय सापकोटाले सम्मेलन यस क्षेत्रका विद्यार्थी र सरोकारवालाका लागि निकै महत्वपूर्ण हुने बताए।
पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आकर्षणको केन्द्र बनेको अस्ट्रेलियामा झन्डै छ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्ने तथ्यांकले देखाउँछ।
जसमा पहिलो नम्बरमा चीन, दोस्रो नम्बरमा भारत र तेस्रो नम्बरमा नेपालका विद्यार्थीहरू पर्दछन्।
नीतिगत तहमा निकै महत्वपूर्ण मानिने यस संगठनमा दुई कार्यकाल नेतृत्व गरेका सापकोटाले सम्मेलनमा विद्यार्थीका समस्या र शिक्षासँग जोडिएका विविध विषयमा सरकारी निकाय र यसका सरोकारवालाबीच गहन छलफल समेत हुने बताउँछन्।
‘मेरो सोच भनेको यस्ता खाले महत्वपूर्ण संघ संगठनमा नेपाली विद्यार्थीहरूको सहभागिता रहोस् भन्ने हो, त्यसैले पनि सम्मेलनमा केही नेपाली विद्यार्थीलाई लाने प्रयास गरेको छु,’विजयले भने।
हाम्रो विद्यार्थीहरूको संख्या यति ठूलो छ तर यस्ता खाले अधिकारिक संघ संगठनमा सहभागिता न्यून छ।
आफ्नो कार्यकालमा विद्यार्थीको हक र हितका निम्ति केही महत्वपूर्ण कदम चालेका सीसाका अध्यक्ष विजयले पछिल्लो एआइबीटीको समस्या र अन्य विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
एउटा नेपालीको छोरो यहाँको नीति निर्माता तहमा पुग्नु पनि महत्वपूर्ण विषय हो, यसैले अहिले पचास हजारको संख्यामा रहेका नेपाली विद्यार्थीहरूलाई पढाइसँगै विद्यार्थीका हक अधिकारका क्षेत्रमा पनि लाग्न आफू सधैं प्रयासरत रहेको सापकोटाले बताए ।
आफ्नो दोस्रो कार्यकालको अन्ततिर आइपुग्दा निकै गम्भीर देखिएका सापकोटाले पर्थमा पदबाट बिदाइ लिए पनि संगठन र विद्यार्थीहरूको समस्या र आवाजको सारथी बन्न भने आफूले नछाड्ने बताए ।